काठमाडौं– गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजहरुलाई कानुनी दायरामा ल्याउन १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई पत्र पठाएको छ।
गृहले मेडिकल कलेज सञ्चालनमा रहेका जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका सीडीओलाई कारबाहीको निर्देशनसहित पत्र पठाएको हो।
मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेको कुरा सार्वजनिक भएपछि गृह मन्त्रालयले सक्रियता देखाएको हो। अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने धम्की मेडिकल कलेजहरूले विद्यार्थीलाई दिएको बताइएको छ।
गृहले पठाएको पत्रमा भनिएको छ, ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुनविपरीत अतिरिक्त शुल्क लिए–नलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सोको प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ।’