काठमाडौं– सरकारले कोरोना भाइरसको नयाँ लहर आएमा जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार तयारीदेखि जनशक्तिसम्म तयारी अवस्थामा रहेको दाबी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संक्रमण बढेको अवस्थाका लागि पूर्वाधारदेखि जनशक्ति तयारी अवस्थामा रहेको दाबी गरेका हुन्। उनले भने, ‘महामारी कायम रहेकाले स्वास्थ्य जनशक्तिलाई जुनसुकै बेला तयारी अवस्थामा रहन निर्देशन दिएका छौं’ उनले संक्रमणको नयाँ लहर आइहाले अक्सिजन र आईसीयूको अभाव हुन नदिने पनि स्पष्ट पारे।
मन्त्री खतिवडाले भने, ‘नेपालमा हालसम्म नयाँ भेरियन्ट फैलिएको छैन। तर संक्रमण आएको खण्डमा सरकारको पूर्ण तयारी अवस्थामा छ।’
‘दैनिक पाँच लाखलाई खोप लगाउने लक्ष्य पूरा गर्न हामी अनुगमन यात्रामा निस्कँदै छौं।’
यस्तै खोप अभियान पनि तीव्र पारिने मन्त्री खतिवडाले बताएका छन्। उनका अनुसार कोरोना खोप अभियान तीव्र बनाउन आफू र राज्यमन्त्री देश दौडाहामा जान लागेको पनि जानकारी दिए। उनले भने, ‘दैनिक पाँच लाखलाई खोप लगाउने लक्ष्य पूरा गर्न हामी अनुगमन यात्रामा निस्कँदै छौं।’
यसका लागि खतिवडा पूर्वी नेपालका विभिन्न ठाउँको अनुगमनमा जाने कार्यक्रम तय भएको छ। यस्तै राज्यमन्त्री भवानीप्रसाद खापुङ प्रदेशस्तरीय भ्रमणमा जाने तयारी छ। मन्त्री खतिवडाले कुल जनसङ्ख्याको ५० प्रतिशतले दुवै मात्रा खोप लगाएपछि बुस्टर मात्रा दिन उपयुक्त हुने बताए। उनले भने, ‘त्यसैले खोप कार्यक्रमलाई तीव्रता दिइरहेका छौं। पुस अन्तिम सातासम्म ‘बुस्टर डोज’ दिने योजना छ।’
नेपालमा बुधबरसम्म १८ वर्षमाथिका ५९ प्रतिशतलाई कोभिड खोपको पहिलो मात्रा र ५१ प्रतिशतलाई दुवै मात्रा दिइएको छ।यो कुल जनसंख्याको क्रमशः ४५ र ३४ प्रतिशत हो। नेपालमा हालसम्म तीन जना मानिसमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ।