काठमाडौं – उच्च हिमाली जिल्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो बढेसँगै विद्यालय शिक्षा प्रभावित बनेको छ। चिसोले सबैभन्दा बढी हुम्ला, मनाङ, मुस्ताङ, विद्यार्थी समस्यामा परेका छन्। चिसो बढेका कारण विद्यालयले सञ्चालन गरिरहेको परीक्षासमेत प्रभावित बनेको छ।
मनाङमा हिमपात भएपछि वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द गरिएका छन्। माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ। केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात बढेर चिसोले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको हो। ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले चिसोका कारण विद्यालय बन्द गरिएको बताए। उनले भने, ‘हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यस वर्ष जाडोअघिको पढाइ टुंग्याउन बाध्य भयौं।’ हिउँ नपरे फागुन १५ देखि विद्यालय खुला गर्ने निर्णय भएको उनको भनाइ छ।
गत वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यस वर्ष परीक्षा लिन सकिएको छैन। विगतमा फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो। तर यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ। वार्षिक परीक्षाको टुंगो छैन। हिमपात हुन थालेपछि मनाङका शिक्षक, विद्यार्थी र अभिभावक लमजुङ, चितवन, पोखरा, काठमाडौंतर्फ झर्न थालेका छन्।
नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएको जानकारी दिए।
सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मका लागि तोकिएको बताए। शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएको जानकारी दिए। मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी कुल २६ वटा सामुदायिक विद्यालय छन्।
चिसो बढेपछि हुम्लाका विद्यालयमा विद्यार्थी खुला चौरमा परीक्षा दिन बाध्य छन्। जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था भएको र खुला चौरको पारिलो घाममा विद्यार्थीको परीक्षा लिनुपरेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए।
सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा चिसो बढेसँगै खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताए। उनले भने, ‘हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्यांग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ। खुल्ला चौरमा परीक्षा दिन बाध्य छौं।’
कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको विद्यार्थीको गुनासो छ। चिसो बढेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको सिमकोट गाउँपालिकास्थित मानसरोवर नमुना माध्यमिक विद्यालयका शिक्षक रेसमराज रोकायाले बताए। शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ। यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्थाअनुसार बिदा बढाइएको छ। तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन्।
देशभर विद्यालय जाने विद्यार्थीको संख्या घट्यो
केही दिनयतादेखि मौसममा परिवर्तन हुनका साथै ह्वात्तै चिसो बढेपछि उदयपुर, डडेल्धुरा लगायतका देशभरका पहाडी जिल्लाको पठनपाठन प्रभावित बन्न पुगेको छ। हिमपातसँगै चिसो बढेपछि डडेल्धुराको अमरगढी नगरपालिकाले ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस १४ गतेदेखि २० गतेसम्म बिदा दिइएको जनाएको छ। ‘१४ गते नगर प्रमुख स्तर निर्णयअनुसार केही दिनदेखि बढ्दै गएको चिसो र प्रतिकूल मौसमका कारण पुस १४ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्ण गरिएको छ। अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले चिसोका कारण पालिकाअन्तर्गतका सामुदायिक र संस्थागत विद्यालय पनि बन्द रहने बताए।
उदयपुरको सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए। एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका बालबालिकाको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुमारी मगरले बताइन्।
चिसो बढेसँगै बालबालिकामा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अभिभावकले विद्यालय नपठाएको सोही स्थान निवासी दानबहादुर पुलामी मगरले बताए। यता जिल्लाको तराई क्षेत्रको त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याई, चौदण्डी नगरपालकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर र आम्बासी क्षेत्रका विद्यालयमा पनि चिसो बढ्न थालेपछि ५० प्रतिशत मात्र विद्यार्थी दैनिक उपस्थित हुने गरेको र अन्य भने चिसोको कारण घरमा बस्ने गरेको सप्तकोसी माविका शिक्षिका सुमित्रा पोखरेलले जानकारी दिइन्। चिसो बढेसँगै तराईका विद्यालयमा पनि विद्यालय जाने विद्यार्थीको संख्या घट्न थालेका छन्।