काठमाडौं- फाइजर खोपका लागि आवश्यक पर्ने घोलक आज आइपुग्दैछ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै काठमाडौं उपत्यकाका तीनसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई १३ पुस देखि कोभिडविरुद्धको फाइजर खोप दिने घोषणा गरेको थियो। तर, उक्त घोलक र सिरिन्जको अभावमा खोप अभियान नै रोकिएको थियो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सिरिन्ज (०.३ एमएल वाला) अभावका कारण यसअघि तय भएको समय र स्थानका बालबालिकालाई सो खोप दिन नसकिएको जनाएको थियो।
तर, विभागकै आपूर्ति व्यवस्थापन शाखाले भने सिरिन्जको जोहो तत्कालका लागि भइसकेको स्पष्ट पारेको छ। शाखा प्रमुख सुरेन्द्र चौरसियाले भने, ‘अहिले आएको खोपका लागि आवश्यक पर्ने सिरिन्ज हामीले व्यवस्थापन गरिसकेका छौँ। बरु अहिले अभाव भएको भनेको खोपको घोलक हो त्यो पनि आजसम्म आइपुग्छ।’