शनिबार, साउन ११, २०८२

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय

स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- सरकारले दीर्घ रोगी र ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको अतिरिक्त डोज दिने निर्णय गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार सरकारले सो निर्णय गरेको हो। 

स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ।

अतिरिक्त मात्रा लगाउनेबारे सोमबार नै प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरिसकिएको छ। हाल अतिरिक्त मात्राका लागि भेरोसेल र कोभिसिल्ड खोप उपलब्ध गराइएको छ।

कोभिडविरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुने विभिन्न अध्ययनले देखाएका छन्। शरीरमा एन्टीबडी कम हुँदै गएपछि संक्रमणको जोखिम बढ्दै जान्छ। त्यसका लागि ‘बुस्टर डोज आवश्यक परेको हो। एक पटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक पर्छ।

इजरायलसहित केही देशले चौथो बुस्टर डोज लगाउन थालिसकेकाले नेपालमा पनि बुस्टर डोज सुरु गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। हाल देखिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टलाई बुस्टर डोजले पनि काम गर्ने बताइएको छ। अर्को महत्वपूर्ण कुरा, बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने देखिएको छ। अर्थात् पहिले कोभिसिल्ड वा भेरोसोल खोप लगाएका व्यक्तिले पुनः कोभिसिल्ड वा भेरोसेल नै लगाउनुभन्दा अष्ट्राजेनिका, फाइजर खोप लगाए बढी प्रभावकारी हुन्छ। कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म लक्षित जनसंख्याको ५१ प्रतिशतले कोभिड खोपको पूर्ण मात्रा लगाएका छन्। हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा खोप लगाइसकिएको छ। जसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले पहिलो मात्रा खोप लगाएका छन्।

  

प्रकाशित: Dec 28, 2021| 12:41 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्