काठमाडौं– राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निणर्य गरेको हो ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो। सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकियसँगै ५ जनामध्येबाट शर्मालाई नियुक्त गरिएको हो। शर्मासँगै प्राडा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, महानन्द चालिसे र शोभाखर कँडेल सर्टलिस्टमा थिए।
शर्मा पूर्व शिक्षा सचिव हुन्। अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो। सूचीमा सूचीकृत भएका उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि शर्मालाई छनोट गरिएको हो।
अध्यक्षको नाम सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले मंसिर ९ गतेसम्मको समय पाएको थियो। बोर्डका तत्कालीन अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए । समिति गठन भएको १५ दिन पछि दरखास्त आह्वान गरिएको थियो।