काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि र प्रावि तहमा संख्या थप गरेर विवरण पठाएको छ।
केन्द्रले यसअघि पठाएको विवरणमा थप गरेर निमावि शिक्षकको रिक्त दरबन्दी २५ सय ९८ जना र प्रावि तहको १३ हजार ९३ को विवरण केन्द्रले पठाएको आयोगले जनाएको हो।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विज्ञापन गर्दा नै विज्ञापन भएको मितिले २१ दिनभित्र संख्या थप गर्न सकिने उल्लेख गरिएकाले माविको यसअघि भएको विज्ञापनमा पनि केही संख्या थप हुन सक्ने बताए। उनले भने, ‘हामीले केन्द्रसँग चैत मसान्तसम्म रिक्त हुने शिक्षकको संख्या माग गरेका छौं। केन्द्रले यसअघि पठाएको विवरणमा केही संख्या थप गरेको छ। अझै केही संख्या थप हुन सक्छ। त्यसका लागि केन्द्रले उपलव्ध गराउने तथ्यांकमा भर पर्छ।’
आयोगले केन्द्रसँग रिक्त हुन पुगेका शिक्षक पद संख्यामा पुस २१ गतेभित्र शिक्षक पदको थप संख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गरेर पुनः माग गरिने जनाएको छ।
आयोगले केन्द्रसँग रिक्त हुन पुगेका शिक्षक पद संख्यामा पुस २१ गतेभित्र शिक्षक पदको थप संख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गरेर पुनः माग गरिने जनाएको छ।
आयोगले गत साता माध्यमिक तहको एक हजार ५४७ पद संख्याका लागि खुला विज्ञापन गरिसकेको छ। आयोगले आगामी चैत १५ गते बिहान ११ बजेदेखि सामान्य परीक्षा सञ्चालन गर्ने गरी माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरेको हो।
यो साताभित्रै निम्न माध्यमिक र त्यसको एक सातापछि प्राथमिक तहको विज्ञापन आह्वान गर्ने आयोगको तयारी छ। आयोगले यही पुस २१ गतेभित्र सबै तहमा विज्ञापन आह्वान गरिसक्ने जनाएको छ। यस पटक आयोगले शिक्षक विज्ञापनमा आवेदन दिन परीक्षार्थीलाई अनलाइन माध्यबाट फाराम भर्ने व्यवस्था गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही जिल्लाले पछिल्लो रिक्त पदको लिखित विवरण केन्द्रलाई नपठाएकाले संख्या यकिन हुन नसकेको र विज्ञापन भएपछि पनि बढाउनुपर्ने अवस्था आएको जनाएको छ। केन्द्रका निर्देशक वसन्त कोइरालाले भने, ‘हालसम्म आएका विवरण सबै पठाएका छौं। नयाँ विवरण जिल्लाले पठाएसँगै हामी तत्कालै आयोगलाई पठाउँछौं।’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र आयोगका पदाधिकारीबीच सोमबार भएको छलफलमा आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री पौडेलले तत्काल निम्नमाध्यमिक र प्राविको विज्ञापन खुलाउन निर्देशन दिएका थिए। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्न माध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको बताएका थिए।
शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन मन्त्रिपरिषद्बाट पास भएकोले आन्तरिक बढुवा एवम् अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न समेत आयोगलाई मन्त्री पौडेलले निर्देशन दिएका छन्। नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा पनि हुने भएको छ।