आइतबार, साउन १२, २०८२

छुट्टी मनाउने बहानामा ज्यान जोखिममा नपार्नुस् : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको भन्दै छुट्टी मनाउने बहानामा बाहिर ननिस्किन अपिल गरेको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको भन्दै छुट्टी मनाउने बहानामा बाहिर ननिस्किन अपिल गरेको छ। नजिकिँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डब्ल्यूएचओले यस्तो अपिल जारी गरेको हो।

‘ओमिक्रोन संक्रमण बढ्दो क्रममा छ, त्यसैले छुट्टीमा घुम्न निस्किने योजना बनाउँदै हुनुहुन्छ भने रद्द गर्नुहोस्। आफ्नोसँगै सार्वजनिक स्वास्थ्यको पनि ख्याल गर्नुहोस्,’ डब्ल्यूएचओको आग्रह छ।

डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडनाम गेब्रियेससले भनेका छन्, ‘जिन्दगीलाई खतरामा पार्नुभन्दा छुट्टीको कार्यक्रम रद्द गर्नु नै ठिक हुन्छ। ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा तीव्र गतिमा फैलिरहेको छ, लापरबाही नगरौं।’

ओमिक्रोन बढ्न थालेपछि फ्रान्स, जर्मनीलगायत कैयौं देशले मानिसको गतिविधि तथा आवतजावतमा कडाइ गरेका छन् र चाडपर्वको समयमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन्। नेदरल्यान्डले त क्रिसमसको समयमा देशभर लकडाउन नै घोषणा गरेको छ।

ओमिक्रोन भेरिएन्टको संक्रमण रोकथामका लागि अहिले विश्वका विभिन्न देशहरूले कडा स्वास्थ्य मापदण्ड अपनाइरहेका छन्। अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थनी फाउचीले क्रिसमसको समयमा हुने यात्राका कारण ओमिक्रोन बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। भ्याक्सिन लगाएका मानिसमा समेत संक्रमणको जोखिम उत्तिकै रहेको उनले बताएका छन्। सीडीसी र अमेरिकी विदेश विभागले आफ्ना नागरिकलाई स्पेन, फिनल्यान्ड, चाड, लेबनानसहित आठ देशको यात्रामा प्रतिबन्ध लगाएको छ।

डा. फौचीले ओमिक्रोनको बढ्दो संक्रमणले अमेरिकाको स्वास्थ्य प्रणालीमा प्रभाव पर्ने बताएका छन्। अहिलेकै अवस्थामा रहने भने अमेरिकी स्वास्थ्य प्रणालीमा निकै दबाब आउने उनको भनाइ छ। खोपको बुस्टर डोज लगाउनका साथै मास्क र सामाजिक दूरीको मापदण्ड पालना गर्न पनि उनको आग्रह छ।

प्रकाशित: Dec 21, 2021| 08:55 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्