काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औंं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए।
प्रधानमन्त्री देउवाले आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए। उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले भने, ‘विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु विस्तार र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी यसलाई निरन्तरता दिनुपर्छ। विश्वविद्यालयको स्तर उचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीहरुसँग सहकार्यको आवश्यक पर्छ। विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी समाजको विकास, रुपान्तरणमा सहयोगी हुनुपर्छ। मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ, बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्छ। आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ।’
प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु विस्तार र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी निरन्तरता दिनुपर्ने बताए। प्रधानमन्त्री देउवा त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत हुन्।