काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२औं वार्षिकोत्सव एवं छैटौँ महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले नहुने भएकाले शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शैक्षिक गुणस्तरमा सुधार ल्याउनु पर्ने बताए।
उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएको चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित नगरे उत्पादन जनशक्ति देश बाहिर जाने उनको भनाई छ।
‘शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएका समस्याहरू छन्’, यसको क्रमशः हल गर्ने बाटोमा सरकार लागेको छ। सघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामा प्रवेश गरेका छौं।’
शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्याहरू धेरै हल हुने उनले विश्वास व्यक्त गरे। मन्त्री पौडेलले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यवहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिएका छन्। विद्यार्थीहरू नै राष्ट्र निर्माणका पहरेदार भएकोले विद्यार्थीलाई लगनशील हुन आग्रह समेत गरे।