जनकपुरधाम- कोरोनाविरुद्धको खोप बिक्रिवितरण गरिरहेका दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। नेपाल सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको कोरोना विरुद्धको खोप ७ हजार रुपैयाँको दरले अवैधानिक रुपमा बिक्री गरिरहेका उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका स्वास्थकर्मीले २१ हजार रुपैयाँमा ३ थान खोप बिक्री गरेको अख्तियारले जनाएको छ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत पाँचौ तहका हेल्थ एसिस्टेन्ट अजकुमार साह र कृष्ण कुमार यादव छन्। लुकीछिपी बिक्री गरिरहेका अवस्थामा पक्राउ गरेको अख्तियारले जनाइएको छ।
पक्राउ परेका स्वास्थ्यकर्मीहरुले पन्ध्र हजार रुपैयाँसम्म लिएर खोप बिक्री गर्दै आएको सूचना स्थानीय यूवाहरुले अख्तियारलाई जानकारी गराएका थिए। यसपछि अख्तियारको टोलीले सक्रियता देखाएर पक्राउ गरेको हो।