काठमाडौं- सरकारले पुस ४ गतेदेखि विद्यालयमा कोरोनाविरुद्धको खोप दिने भएको छ। पुस ४ देखि ५७ जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई कोभिड-१९ विरुद्धको खोप दिन लागिएको हो। उक्त उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए।
उनका अनुसार विद्यालयमा नै खोप केन्द्र राखेर खोप दिन लागिएको हो। ‘यसअघि फाइजर खोप दिइएका र सिन्धुलीबाहेकका जिल्लामा खोप दिइनेछ,' दाहालले भने।
नेपालमा हालसम्म १६ लाख ८६ हजार ६ सय डोज मोडेर्नाको खोप आएको छ। आज मात्रै कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार ६ सय डोज मोर्डना खोप नेपाल आइपुगेको छ। यस्तै, आइतबार मोडेर्नाकै १९ लाख ६६ हजार डोज नेपाल आउँदैछ।
यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइएको थियो।
यी हुन् विद्यालयबाटै खोप दिइने जिल्ला
इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सिराहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, महोत्तरी, सर्लाही, रामेछाप, दोलखा, बारा, रौतहट, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ्, स्याङ्जा, तनहुँ, मनाङ, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, म्याग्दी, पर्वत, मुस्ताङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, बर्दिया, दैलेख, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला