काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दिवा खाजा व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको नीतिविपरीत विद्यालयहरुले बजारबाट खरिद गरेर तयारी प्याकेटको खाजा खुवाएको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ।
केन्द्रले विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको भन्ने जानकारीमा आएकाले सरकारको नीति विपरीत र बालबालिकाको स्वास्थ्य सम्वेदनशिलतामा असर पर्ने भएकाले स्थानीय उत्पादनमा नै जोड दिएर खाजा खुवाउन निर्देशन दिएको हो।
सरकारले देशैभरका सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्मका बालवालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा, सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न केन्द्रले विद्यालयलाई सुचित गरेको छ।