काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्। उनले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए।
उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए।
मन्त्री खतिवडाले भने, ‘बोस्टर डोजसँग गाँसिएका कुराहरु आए। यसको नाम बोस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बोस्टर डोज भनियो। ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ। प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ। सरकारी संयन्त्रलाई मिलाएर बोस्टर डोज दिने भन्ने कुरा मन्त्रीपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ।’
मन्त्री खतिवडाले ओमिक्रोन भेरियन्टबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई यात्रा प्रतिबन्ध लगाएको बताए। उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए। मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँ-गाउँमा गई कोरोनाबिरुद्धको खोप लगाउन सहयोग गर्न पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुलाई आग्रह गरेका छन्।
मन्त्री खतिवडाले भने, ‘ओमिक्रोनको हकमा अहिलेसम्म ८-१० वटा देशलाई हामीले यात्रा प्रतिबन्ध लगाएका छौँ। अन्य देशहरुबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइन्मा राख्ने कुरा गरेका छौँ। कोरानाभन्दा केही फरक भाइरस देखिए त्यसलाई जाच्ने प्रवन्ध हामीसँग छ र गरिरहेका छौँ। एउटा अनुरोध मिडियाका साथी, राजनीतिक दलहरुलाई हामीले भोट माग्नको लागि नमस्कार गरेर घर गएजस्तै त्यही मिहेनत कोरोना खोपका लागि गरिदिनुहोस् भन्न चाहन्छु। खोप र दुई जना सुई लगाउन जाने स्वास्थ्यकर्मीहरुलाई खोपका झोला, २००, ५००, ८००, १००० का झोला बोकेर जिल्ला जनस्वास्थ्य कार्यालयबाट लिएर गाउँ-गाउँका केन्द्रहरुमा गएर भोट र पर्चा बाँड्न आएका थियौँ। यसपटक तपाईहरुको स्वास्थ्य उपचार गर्न आएका छौँ भनेर सबै दलहरु हिँडिदिनु होस्।’
बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न सतर्कता अपनाउनु पर्ने बताए। उनले कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताउँदै सदस्य भट्टराईले भने, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा सतर्कता अपनाउनु पर्छ, लकडाउनभन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ।’
बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्ट भएकोले विश्वले यसमा चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे। उनले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताए।
त्यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले गरेको एक सुक्ष्म अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताए। उनले यसको पूरा अध्ययन भइ नसकेकोले नेपालमा भने विभिन्न १३ नाकाहरुमा सतर्कता अपनाउन आग्रह गरेका छन्।
बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले ओमिक्रोन विज्ञहरुको कुरा सुन्दा सामान्य लागे पनि संसारभर त्रासको वातावरण रहेको भन्दै सतर्कता अपनाउनु पर्ने बताए। उनले विगतमा पनि डराएर तयारी गर्न नसकेको बताउँदै यसपटक भने पूर्व तयारी गर्न आग्रह गरेका छन्। उनले समस्या आउनु अगावै रणनीतिक रुपमा काम गर्न सुझाव दिए।