काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी हुँदा उनकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी नायिका रेखा थापा पराजित भइन्। कमल थापालाई २२७ मतान्तरले हराउँदै लिङ्देन अध्यक्ष पदमा विजयी हुँदा रंगमञ्चबाट राजनीतिमा प्रवेश गरेकी थापाले विजयी उम्मेदवार कुन्तीकुमारी शाहीले ३६८ मत कम ल्याइन्। शाहीले २००८ मत ल्याउँदा थापा १६४० मतमा सीमित भइन्।
हुन त रेखाको लामो राजनीतिक इतिहास छैन, तैपनि मतपरिणाम सार्वजनिक हुनुअघिसम्म रेखा विजयी हुन सक्ने आकलन गर्नेहरू थुप्रै थिए। रेखलाई पराजित हुन पराजित अध्यक्ष कमल थापाको ट्विटले पनि सहयोग गरेको भन्ने राप्रपाका नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि छन्।
आखिर पराजित कमलको कुन पोस्टले रेखालाई पराजयको कित्तामा उभ्यायो त? कमल थापाले दुई दिनअघि मात्र सामाजिक ट्विटरमा एउटा भिडियोलाई 'कोट ट्विट' गरेका थिए। त्यही 'कोट ट्विट'ले रेखालाई राप्रपा महामन्त्री बन्नबाट रोक्न कारक भएको बताउँछन् एक जना महाधिवेशन प्रतिनिधि।
‘महाधिवेशन सुरु भैसकेपछि अध्यक्षजस्तो व्यक्तिबाट रेखा थापालाई नङ्ग्याउने उद्देश्यले जुन भिडियो पोस्ट भएको छ, त्यसले उहाँलाई ठूलो क्षति पुर्याएको देखिन्छ। राजेन्द्र लिङदेनलाई भोट दिएको म आफैले उहाँलाई भोट दिइनँ,’ एक महाधिवेशन प्रतिनिधिले भने। उनका अनुसार उक्त भिडियोसहितको कोट ट्विटले राप्रपाका धेरै कार्यकर्तालाई भोट दिनुअघि एकपटक सोच्न बाध्य बनायो।कमल थापाले पोष्ट गरेको सो भिडियोमा 'राजतन्त्र कि गणतन्त्र' भन्ने प्रश्नमा रेखा थापाले 'गणतन्त्र' भन्ने जवाफ दिएकी थिइन्। यद्यपि यो पुरानो भिडियो हो। ग्लामर गफ (२१ मिनेटपछि) कार्यक्रममा प्रकाश सुवेदीसँगको कुराकानीका क्रममा गत वर्ष रेखाले गणतन्त्र रोजेकी थिइन्। सोही भिडियोको क्लिप बनाएर शशांक शमशेर थापाले गरेको ट्विटलाई कमलले 'हाहा.. नो कम्मेन्ट' भन्दै शुक्रबार कोट ट्विट गरेका थिए। यही भिडियोलाई कमल थापाले फेसबुकमा समेत पोस्ट गरेका छन्।
'पार्टी राजसंस्थासहितको हिन्दू राज्यको वकालत गर्ने, हामी राजतन्त्रको माग गर्दै आन्दोलन गर्ने तर पार्टीको नेतृ चाँहि गणतन्त्रको वकालत गर्ने? यस्तो भएपछि कसरी भोट दिन मनले मान्छ,' अर्का एक महाधिवेशन प्रतिनिधिले भने। रेखा थापाजस्ता स्वार्थी व्यक्ति पार्टीमा स्थापित भएको अवस्थामा पार्टी बद्नाम हुने, एजेन्डा कमजोर हुने र जनताको नजरमा थप गिर्ने अवस्था सृजना हुने अवस्था आउन सक्ने ती महाधिवेशन प्रतिनिधिको चिन्ता थियो।
राप्रपाका एक नेताका अनुसार रेखा थापाले गणतन्त्रको पक्ष लिएको यो भिडियो कमल थापा जतिको नेताबाट पोस्ट नभएको भए उनी निर्वाचित हुने सम्भावना बलियो रहेको थियो। यो भिडियोले कम्तीमा ४/५ सय भोट काटेको उनको आकलन छ। रेखाले थप ४ सय भोट रेखा थापाको पक्षमा आएको भए उनी महामन्त्री निर्वाचित हुने थिइन्। थापाले १६४० त ल्याएकी थिइन् । उनलाई पराजित गर्ने कुन्ती शाहीले २००८ मत पाएकी छिन्।
फेसबुकमा कम्मेन्ट गर्ने अधिकांशले हार्ने निश्चित भएपछि देखाएको हर्कत भनेर टिप्पणी गरेका छन्। केहीले भने एक वर्ष पहिलेको भिडियो हालेर उचित नभएको भन्दै कमल थापालाई प्रतिप्रश्न गरेका छन्।
शर्मा पंकजले निवर्तमान अध्यक्ष थापाको पोस्टमा कमेन्ट गर्दै लेखेका छन्- कमल थापाजी हिजोका दिनमा आफ्नै साथमा हुँदा रेखा थापा राम्रो। आज चुनाव हुने अवस्था हुँदा पुरानो भिडियो पोस्ट गर्दा लाज भएन तपाईलाई? अध्यक्षमा जित्नु हुँदा रेखा थापा, राजेन्द्र लिङ्देन तपाईंको साथ हुन्छन् कि नाई समयले बताउँछ। तर तपाईं हार्दा तपाईको ईज्जत केही हुँदैन। 'तपाई र रेखा थापाहरु जस्ताको कारण राजसंस्था र सनातन हिन्दू राष्ट्र नेपाल पुनःस्थापना नभएको हो,' झरेन्द्रबहादुर खड्काले कमेन्ट गरेका छन्।
त्यसो त कमल थापाले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्ने कतिपयले यही भिडियोका कारण रोखा थापा पराजित हुने खतरा बढेको टिप्पणी गरेका थिए। राजावादी पार्टीको नेतृले गणतन्त्रको पक्ष लिएको भिडियो पोस्ट गरेर कमल थापाले आफूसँगै रेखा थापालाई पनि हराउने खेल खेलेको प्रतिक्रिया दिएका थिए। नभन्दै भयो पनि यस्तै।
'कमल थापाजी, रेखा थापालाई राजनीति थाहा नहोला, तर तपाईंलाई थाहा भएको राजनीतिले नीति–विचार विष्णुमतिमा फालेर सत्तामा बस्ने र चुस्ने भन्दा राप्रपाको सैद्धान्तिक रुझानमा केही लछारपाटो लाएन, ठूला कुरा गर्नु पर्दैन,' आचार्य मड्डीले कमेन्टमा लेखेका छन्।
केहीले भने कमल थापाले ठिक पोस्ट गरेको भन्दै उनको समर्थन गरेका छन्। माधव न्यौपाने कमेन्टमा लेख्छन्, 'ठिक कुरा पोस्ट गर्नु भयो, धन्यवाद। यस्ता स्वार्थीहरु स्वार्थसिद्ध गर्न जे पनि भन्छन्/गर्छन्।'
रेखा थापा २०७३ मंसिर २७ गते राप्रपामा प्रवेश गरेकी थिइन्। उनलाई कमल थापाले नै पार्टीमा भव्य स्वागत गरेका थिए। यति मात्रै होइन, तत्कालीन अध्यक्ष थापाले राप्रपा प्रवेश गरेको डेढ महिनाकै अवधिमा २०७३ माघ ७ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
भर्खरै समापन भएको राप्रपाको एकता महाधिवेशनमा दुवै थापा पराजित भए। सुरुमा निकै राम्रो सम्बन्ध भएका दुई थापाबीच महाधिवेशन नजिकिएसँगै तिक्तता बढेको थियो। सामाजिक सञ्जालमार्फत् एकले अर्काको उछित्तो काट्न समेत सक्रिय भए।
जे होस्, रेखाको हारमा कमलको पोस्ट बाधक बनेको देखियो। राजनीतिमा स-साना कुराले पनि लामो समयसम्म कुनै न कुनै रूपमा अर्थ राख्छ भन्ने कुरा यो भिडियोले थप प्रष्ट्याएको छ। राजनीतिमा वर्षौँ बिताएका 'नेता'हरूलाई यो विषय जानकारी नहुने कुरा भएन। तर भर्खरै राजनीतिमा हात हालेकाहरूका लागि भने यो प्रकरण सन्देशमूलक भएको छ।
हारपछि कमल थापा विभिन्न पोस्ट गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई गाली गरिरहेका छन्। उनले पूर्वयुवराज्ञी हिमानी शाहसहितलाई गाली/व्यंग्य गर्न भ्याएका छन्। कम्तीमा त्यति ठूलो राजनीतिक उचाइ प्राप्त गरेका थापाबाट यस्ता प्रतिक्रिया अपेक्षित थिएनन्। उता रेखा भने हारपछि पनि सन्तुलित देखिएकी छन्।
के भन्छिन् रेखा?
राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन्। महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी व्यक्त गरेकी हुन्।
‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रुपमा म प्रसन्न छु।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन्।
शाहीले २ हजार ८ मत ल्याउँदा थापा भने ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सीमित भएकी थिइन। अध्यक्षको अर्का प्रत्यासी कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन्।
चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन्। ‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फवाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ।’
थापाको बुझाई राप्रपा महाधिवेशनमा आफूलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो। ‘म नेपालवादी भनेर मत मागिरहे। तर अधिवेशनभर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गर्दा पनि मेरो पराजय भएको हो कि भन्ने मेरो बुझाई छ,’ उनले भनेकी छन्। नेपाल र नेपाली जनताका लागि आफू सदैव जीवन अर्पित गर्न तयार भएर अभिनयबाट राजनीतिमा प्रवेश गरेको थापाको भनाइ छ।