आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।
 |  शुक्रबार, मंसिर १०, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, मंसिर १०, २०७८

बुटवल- नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिकपछि सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै भनेका छन, ‘यो निर्वाचनबाट, खटेर, कसैको काम गरेर, अहोरात्र सेवा गरेर, इमान्दारीपूर्वक राजनीतिक योगदान र समर्पणबाट मात्र पार्टीको निर्वाचनमा विजेता बन्‍न सकिँदैन भन्‍ने पूर्ण अनुभूती भएको छ।’ 

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए। बुटवलमा बिरामीलाई भेट्न जाँदा फलफूलको सट्टा नगद रकम लिएर जाने अभियान सञ्‍चालन गरेर उनी चर्चामा थिए। 

लुम्बिनी प्रादेशिक अस्पतालाई सरकारी मेडिकल कलेज बनाउनुपर्नेजस्ता अभियान सञ्‍चालन गर्ने अभियन्ता समेत थिए, उनी। तर, सामाजिक र राजनीतिक रुपमा सक्रिया तीनै मुक्तिराजले बुटवलमा व्यापार-व्यवसाय गर्नेले जति पनि मत ल्याएनन्। संस्थापन समूहका उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रे पनि पौडेलले आफू गुटमा नलाग्‍ने बताउँदै आएका थिए। तर, पौडेल पराजति भए। बरु संस्थापनबाटै उठेका बुटवल उद्योग वाणिज्य पूर्वअध्यक्ष एंव व्यवसायी महेशमान सिंह विजयी भए। 

लुम्बिनी प्रदेशका सांसद रमा अर्याल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भइन्।  गृहमन्त्री बालकृष्ण खाँणकै नगर तिलोत्तमाकी अर्याल क्षेत्र न. ३ मा पौडेल पक्षकी उम्मेदवार थिइन्। उनी भन्छिन, ‘गुटले गर्दा, यो स्थिति देखा परेको हो।’ उनले पार्टी नै भनेर जीवन बिताउनेहरुले हार्ने अवस्थाले पार्टीलाई दीर्घकालीन असर गर्ने बताइन्। ‘नयाँ अनुहार जो भर्खर राजनीतिमा आएको छ, जसले एकजोर जुत्ता पनि फटालेको छैन, त्यस्ताले स्थान पाउने अवस्थाले पार्टी राम्रो बन्दैन,’ उनले भनिन। उनका अनुसार अहिले गुटको राजनीति त्यसमा पनि ‘एसम्यान’ खोज्‍ने प्रवृत्तिले पनि काम गरेको हो। 

यो पटक नेपाली कांग्रेसको महाधिवेशनमा चरम गुटबन्दी हुँदा कांग्रेसको राजनीतिमा लागेका पुराना नेताहरु पराजित हुन पुगेका छन्। संस्थापन र संस्थापन इतरबाट उम्मेदवार बनेका दुबै पक्षमा जीवनभर राजनीतिमा लागेकाहरुले पराजय भोगेका छन्। त्यस्तै नेपाली कांग्रेसका पुराना नेता युवराज गिरी पराजित भए। रुपन्देही क्षेत्र न. १ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार गिरी जिल्ला नेतृत्वका दाबेदार थिए। तर, उनी पराजित भएपछि सबै ढोका बन्द भए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपमहाचिव विष्णु पौडेलसँग चुनावी मैदानमा उत्रेका थिए, उनी। 

नेपाली कांग्रेसमा क्षेत्रीय अधिवेशनमा पराजित भएका कांग्रेसका पुराना नेताहरुले आफूलाई समीक्षा गर्नुपर्ने विश्लेषकहरु बताउँछन्। आन्तरिकरुपमा निर्वाचन भएर जो आए पनि त्यसलाई स्वीकार गर्नुपर्ने बताउँछन् लेखक ऋषि आजाद।

‘आफू बलियो हुने नाममा विभाजित हुँदा त्यसले यो परिणाम ल्याएको हो, अर्कोतर्फ पार्टीको सिद्धान्त, समस्या र चुनौतीबारे प्रशिक्षित गर्न पनि सकिएनछ,’ उनले भने, ‘मलाई सभापति हुन्छ भनेरै नियोजित रुपमा हराइयो।’ उनले कार्यकर्तालाई दोष दिनभन्दा पनि प्रशिक्षित गर्न नसक्दा यो परिणाम आएको बताए। ‘समायोजनका नाममा जस्ता मान्छेलाई पनि स्वागत गरियो, त्यसैको परिणाम पनि हो, व्यक्तिगत स्वार्थ पनि हाबी भयो,’ उनले भने। 

पञ्‍चायतकालमा कांग्रेसका नेताहरुलाई संरक्षण गरेका पुराना कांग्रेस नेता स्व. पुष्पानन्द गिरीका छोरा हुन्, गिरी। २०४० सालको सुरजपुरा हत्याकाण्डका पीडित परिवारसमेत हुन्, उनी। तर, कांग्रेसमा योगदान गरेको भए पनि कार्यकारी पदमा भने उनी कहिल्यै पुग्‍न पाएनन्। गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको सहयात्री गिरी यो पटक महाधिवेशन प्रतिनिधिमा समेत हार व्यहोरेपछि थप पीडामा छन्। उनी अहिले देउवा पक्ष अर्थात रुपन्देहीमा खाँण पक्षमा छन्। 

नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। जिल्ला सभापतिका दाबेदार रहेका ढकाल निर्वाचन क्षेत्र न. ३ को महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। उनको अब उम्मेदवार बन्ने सबै ढोका बन्द भएको छ। ढकाल संस्थापन इतर पौडेल समूहबाट उम्मेदवार थिए। 

त्यसो त रुपन्देहीमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका खाँणको दबदबा छ। त्यसमा पनि रुपन्देहीको क्षेत्र न. ३ मा रहेका पौडेल पक्षका पुराना कांग्रेसका नेताहरुले पराजय भोगे। त्यसरी पराजित कांग्रेस रुपन्देहीका पूर्व उपभापति विजय शर्मा, प्रदेशसभाका उम्मेदवार हरिध्वज मल्ल, प्रदेश प्रतिनिधिमा हेमराज अर्याल पराजित भएका छन्। हेमराज नेविसंघको सभापति हुँदा गृहमन्त्री खाँण सहसचिव थिए। 

त्यसैगरि कांग्रेसमा परिचित जोगबहादुर खत्री, अल्छि गोपाल पाण्डे, गोविन्द लम्साल, सोमनाथ शर्मालगायत छन्। तर, २०७४ को निर्वाचनअघि कांग्रेस प्रवेश गरेका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनसहितका नेताहरु भने सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन्। प्रदेशसभा सदस्य एवं लुम्बिनीका मन्त्री अष्टभूजा पाठक, पुष्पा थरुनी विजयी भएका छन्। 

जसले हारे उसले समीक्षा गर्नुपर्छ 

नेपाली कांग्रेसमा क्षेत्रीय अधिवेशनमा पराजित भएका कांग्रेसका पुराना नेताहरुले आफूलाई समीक्षा गर्नुपर्ने विश्लेषकहरु बताउँछन्। आन्तरिकरुपमा निर्वाचन भएर जो आए पनि त्यसलाई स्वीकार गर्नुपर्ने बताउँछन् लेखक ऋषि आजाद। गुटका कारणले कतिपय पुराना नेताहरु पाखा लाग्‍नु दुःखद भए पनि अब त्यहीबाट पाठ सिकेर कार्यकर्ता केन्द्रीय अभियानमा सामेल हुनुपर्ने उनको सुझाव छ।

‘सधैभरि आफैँमात्र ठिक भन्‍ने हुँदैन, सदस्यहरुको मतको कदर गर्नुपर्छ,’ उनले भने, ‘जसले जित्‍नुपर्ने हो, उहाँहरुले किन जित्‍नुभएन, यसमा गम्भीर रुपमा समिक्षा गर्नुपर्छ।’ 

उनले निर्वाचनको परिणाम स्वीकार गर्दै केन्द्रदेखिको राजनीतिक संस्कार बदल्नुपर्ने बताए। उनले राजनीतिमा कस्ता व्यक्ति ल्याउने भन्‍ने विषयमा दलहरुले सुरुबाटै चिन्ता नगर्ने, परिणाम आएपछि मात्रै दुःख मान्‍नुको अर्थ नहुने बताए। ‘समयमा सचेत हुनुपर्छ, अन्यथा राजनीति जुन बाटोमा जानुपर्ने हो, त्यता नजान पनि सक्छ,’ लेखक आजादले भने। 

प्रकाशित: Nov 26, 2021| 06:19 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।