दार्चुला- २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको चुनाव जितेका एक जना नेकपा एमाले पालिका कमिटी अध्यक्षमा चयन भएका छन्।
दार्चुलाको व्यास गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका हुन्।
बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य उपेन्द्रसिंह धामीले जानकारी दिए।
गत १० असोजमा भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा मंगलसिंह धामीले व्यास गाउँपालिका सभापतिमा दाबी गरेका थिए। पालिका सभापतिमा आकांक्षी बढी भएपछि चुनावी प्रक्रियाबाट कांग्रेसले पालिका सभापतिको टुंगो लगाएको थियो।
चुनावी प्रक्रियाबाट हारेपछि धामीले कांग्रेसीहरूले धोका दिएको भन्दै १७ असोजमा एमालेमा प्रवेश गरेका थिए। एमाले विधान अधिवेशन सकिएको दिन धामीलाई अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका थिए। धामीलाई व्यासका एमाले कार्यकर्ताले सर्वसम्मत रूपमा पालिका अध्यक्षमा चयन गरेका छन्। धामी व्यास क्षेत्रमा प्रभावशाली नेता मानिन्छन्।