शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अधियाँमा धान लगाउनेको चिन्ता- आफैंलाई खान छैन, मालिकलाई के दिने?

अधियाँमा धान लगाउनेको चिन्ता- आफैंलाई खान छैन, मालिकलाई के दिने?

चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छँदैछ। अब जमिन मालिक आए के भन्‍ने? चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ।’
 |  बुधबार, कात्तिक १०, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, कात्तिक १०, २०७८

धनगढी- एक साताअघिको बेमौसमी वर्षापछि आएको बाढीले घर भत्काइ दिएपछि कैलालीको दक्षिणी क्षेत्रका बाढीपीडिको बास हुलाकी सडकमा भएको छ। 

उत्तरतर्फबाट बग्‍ने कान्द्रा र दक्षिणतर्फबाट बग्‍ने मोहना नदी उर्लिएर आएको बाढीले घर भत्काइ दिएपछि उनीहरुको हुलाकी सडकमा नै बास भएको छ। जिल्लाको भजनी नगरपालिका–७, हिम्मतपुरका १८ भन्दा बढी घरधुरीको बास अहिले हुलाकी सडकमा छ। उनीहरु पाल टाँगेर सडकमै खाँदै बस्दै आएका छन्। 

स्थानीय बुढनी कुमालले भनिन्, ‘बाढीले घर ध्वस्त पारिदियो। अहिले हिलाम्य छ। हुलाकी सडकलाई सुरक्षित मानेर यहाँ आएर बसेका छौं।’ उनले राहतको नाममा चाउचाउ र पानी मात्र पाएको बताइन्। 'अहिले हामी घर फर्किन सक्दैनौं,' उनले भनिन्, 'केही समय अझै लाग्छ। सरकारले टेन्ट बनाउन पाल दिएको भए हामीलाई सुत्‍न सजिलो हुन्थ्यो।’

सोही ठाउँकी सीतारानी चौधरीले बाढीले घरमा क्षति पुर्‍याएपछि हुलाकी सडकको बास सुरु भएको बताइन्। ‘घर पुरै भत्किएको छ। त्यहाँ पूरा हिलाम्य छ,’ उनले भनिन्, ‘घर मर्मत नभएसम्म यही बस्‍नुपर्ने हो। सरकारले पाल दिएको भए सडकमै भएपनि अलि राम्रो टेन्ट बनाउथ्यौं।’

हुलाकी सडक बन्यो खेरान

बाढीले खेतबारी हिलाम्य भएपछि भिजेको धान थ्रेसिङ्ग गर्ने थलो किसानका लागि हुलाकी सडक बनेको छ। हुलाकी सडकअन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १९ देखि टीकापुर नगरपालिका सबै क्षेत्रका किसानलाई धान थ्रेसिङ्ग गर्ने 'खेरान' हुलाकी सडक बनेको हो। 

कैलालरी गाउँपालिका–७, भुइयाफाँटाका चन्द चौधरीले भने, ‘जमिन सबै हिलाम्य छ। हुलाकी सडकले गर्दा धान थ्रेसिङ्ग गर्न, पराल सुकाउन, धान सुकाउन धेरै सजिलो भएको छ।’

भजनी नगरपालिका–७ हिम्मतपुरकी सीतारानी चौधरीले धान थ्रेसिङ्ग गर्ने, पराल र धान सुकाउँदै दिनभर हुलाकी सडकमा बिताउने बताइन्। उनले भनिन्, 'दिनभर धानका कारण यही हुन्छौं। रात परेपछि घर भत्किएको हुँदा यही बस्छौं।’

बटैयामा धान लगाएका किसान भन्छन् - अब मालिकलाई के दिने, के खाने?

मंगलबार कैलारी गाउँपालिका–७, छुट्की बसन्ता पुग्दा सीता चौधरी केही दिन अघि परेको बेमौसमी वर्षाले भिजाएको धान पल्टाउँदै थिइन्। हिलाम्य खेतमा हिलैहिलो भएकी उनी भिजेको धान सकिनसकी फर्काइरहेकी थिइन्। कटैनी र मोहना नदीको बीचमा दुई बिगाह क्षेत्रफल बटैया (अधियाँ)मा लिएर धान खेती गर्दै आएकी सीता चौधरीको धान पल्टाउँदै जाँदा उनको पीडा थपिँदै गरेको मुहारबाट प्रस्ट हुन्थ्यो। असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म लगातार परेको बेमौसमी वर्षापछि आएको बाढीले उनको आधाभन्दा बढी काटेर राखेको धान बगाएर लगेको सीताको भनाइ छ। 

चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छँदैछ। अब जमिन मालिक आए के भन्‍ने? चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ।’

‘आधाभन्दा बढी धान बगाएर लग्यो। बाँकी रहेको धान पल्टाउँदै गर्दा मन रोइरहेको छ,’ सीताले भनिन्, ‘आफ्नै खेत भएको भए केही मान्दैनथ्यौं। बटैयामा लिएर खेती गरिरहेका छौं। अब जग्गा धनीले के भन्ला अर्को वर्ष खेत दिन्छ कि दिँदैन होला त्यसैले बढी चिन्ताले सताएको छ।’

उनले थपिन्, ‘हामीसँग घरबास मात्र छ। बटैयामा लिएको जमिनमै उत्पादन भएको धान जमिन मालिकलाई दिएर बचेको बेचेर घर खर्च चलाउन्थ्यौं। बाँडेर आएको धान खान्थ्यौं। बचेको बेच्थ्यौं।’ उनले धान पल्टाउँदै जाँदा सबै उम्रिएको बताइन्। 

कैलारी गाउँपालिका-७ भुइयाफाँटाका चन्द्र चौधरीको अवस्था पनि त्यस्तै छ। उनले बटैयामा १५ कट्ठामा लगाएको आधा धान बाढीले बगाएको र आधा धान पटान गरेको बताए। ‘आधा बगायो । आधा पटान गरिदियो,’ चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छँदैछ। अब जमिन मालिक आए के भन्‍ने? चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ।’

महँगीयो थ्रेसरको भाडा

बाढीका कारण धान बिग्रिए पनि त्यसलाई प्रयोग गर्न सकिन्छ कि भनेर अहिले धान थ्रेसिङ्‌मा व्यस्त छन्। किसानले दैनिक ज्याला तिरेर धान थ्रेसिङमा जुटेको अवस्थामा ज्याला महँगिएका कारण किसान चिन्तित भएका छन्।

अघिल्लो वर्षसम्म १८ भाग धान किसान र एक भाग थ्रेसर धनीले लिने गरेका थिए। तर, बाढीले धानको गुणस्तर गुमाएका कैलालीका किसानले १४ भाग धान किसान र एक भाग थ्रेसर धनीले लिने गरेका छन्।

धनगढी उपमहानगरपालिका–१५, उर्माका महेश चौधरीले भने, ‘गत वर्ष १८-१९ (१८ भाग दाना किसान र एक भाग दाना) थ्रेसरधनीले लिन्थे। अहिले १४-१५ तिर्नुपरेको छ। यो वर्ष थ्रेसरको मूल्य अत्यधिक बढेको छ।’ 

धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रमा किसानले १०-१२ सम्ममा थ्रेसर प्रयोग गर्न बाध्य छन्। कैलारी गाउँपालिका वडा नम्बर ४ का बेजुराम चौधरीले १६-१७ मा धान थ्रेसर प्रयोग गरेको बताए। उनले भने, ‘गत वर्ष १८-१९ मा थ्रसिङ् गराएको थिए। अहिले महँगो भएको छ।’

कृषि निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले कृषि उपकरण प्रयोग गर्दा मूल्य निर्धारण गर्ने निकाय नभएको बताए। उनले कृषि उपकरण प्रयोग मूल्य कसले निर्धारण गर्ने भन्‍ने संरचना नभएको बताए। उनले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको आपूर्ति महाशाखाले यस्ता कुरामा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: Oct 27, 2021| 15:14 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।