धनगढी– दसैंको रमाइलो सकिन नपाउँदै नेपाली युवा भारत जान थालेका छन्। दसैंका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दसैैं मनाउन नपाउँदै भारत फर्कन थालेका हुन्। ‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ कैलालीको गोदावरी नगरपालिका–११ का शिवशंकर ओडले भने, ‘बालबच्चा र बुबाआमालाई पाल्नुपर्ने दायित्व ममा छ। उनीहरूको खुसीका लागि दसैंको रमाइलो बिर्सेर भारत जाँदै छु।’
२५ असोजमा भारतको नोयडाबाट दसैं मनाउन नेपाल आएको उनले बताए । ‘घर परिवार र आफन्तसँग रमाइलो गर्ने इच्छा हुँदाहुँदै सबै बिर्सनु परेको छ,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाएको भए यसरी फर्कनु पर्ने थिएन होला।’
उनी जस्तै धनगढी उपमहानगरपालिका–२ का पदम भट्ट पनि दसैं राम्ररी मनाउन नपाउँदै रोजगारीका लागि भारत पसेका छन्। दसैं मनाउन २७ असोजमा उनी धनगढी पुगेका थिए। तर, छुट्टी धेरै नपाइएका कारण राम्ररी दसैं मनाउन नपाउँदै भारत फर्कनुपरेको उनले बताए।
होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनुपर्दछ, कि त नोकरी छोड्नुपर्दछ।’
‘दुई वर्षपछि दसैं मनाउन घर आएको हुँ’, उनले भने, ‘आफन्त र नातागोताका सबैलाई भेट्ने र टीका थाप्ने इच्छा थियो, छुट्टी कम भएका कारण सबैलाई बिर्सेर भारत पस्दैछु।’ भारतको राजधानी दिल्लीमा उनी होटेल क्षेत्रमा कार्यरत छन्।
कैलालीको गोदावरी नगरपालिका–१२ की ईश्वरी लुहार भने रोजगारीका लागि नभई भारतमै बसेका श्रीमानलाई भेट्न भारत गएको बताउँछिन्। ‘श्रीमान घर नआएको तीन वर्षभन्दा बढी समय भयो’, शनिबार भारत जाने क्रममा कञ्चनपुरको गौरिफण्टा नाकामा भेटिएकी उनले भनिन्, ‘श्रीमान नआएपछि उहाँलाई भेटेर दसैंको जमरा दिन आफैं भारत जाँदैछु।’
घरमा भएका सासूससुराले छोरालाई भेट्न नपाएपछि भारतमै भए पनि दसैंको टीका पुर्याउने इच्छा राखेपछि आफू सासूससुराको आशीर्वाद ‘जमरा’ लगेर श्रीमानलाई भेट्न भारत जान लागेकी उनले बताइन्।
स्वदेशमा रोजगारी नपाइने र भारतमा पाइएको राजगारी गुम्ने डरले दसैं राम्ररी मनाउन नपाउँदै नेपाली भारत जान थालेका हुन्। ‘अहिले भारतका होटेलमा ग्राहक बढी आउने गर्दछन्,’ गोदावरी नगरपालिका–११ का शिवशंकर ओडल भने,’ होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनुपर्दछ, कि त नोकरी छोड्नुपर्दछ।’
प्रहरीका अनुसार शनिबार बेलुकासम्म गौरीफन्टा नाका हुँदै १३४ जना नेपाली भारत गएका छन्। भारत जानेमध्ये अधिकांश रोजगारीका लागि गएका नागरिकको तथ्याङ्क राख्दै आएको कञ्चनपुरको परासन पच्गढीया चौकीका जवान ममेन्द्रराज गिरीले बताए। -न्युज कारखाना