लखनऊ- आइतबार भएको झडपमा ४ जना किसानसहित ८ जनाको मृत्यु भएपछि भारतको उत्तर प्रदेश राज्यको लखिमपुर खिरी तनावग्रस्त बनेको छ।
लखिमपुर खिरीको तिकुनियामा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्र टेनीका छोरा आशिष मिश्रको गाडीले कुल्चिँदा चारजना किसानको मृत्यु भएको बताइएको छ। त्यस्तै झडपमा आशिषको जिपका चालक र ३ जना भारतीय जनता पार्टीका कार्यकर्ताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
किसान आन्दोलनमा निहत्था किसानहरुलाई सत्ताको रापले कुल्चिएको भन्दै किसानहरु आक्रोशित बनेका छन्। अर्कोतर्फ शोकमा डुबेका परिवार र आफन्तहरुको आँशुले सत्तालाई सरापिरहेको छ। यहाँ एक बहिनीले आफ्नो भाइ गुमाएकी छन् भने एक बबुाले आफ्नो भविष्यको साहरा छोरा गुमाएका छन्।
उनीहरुले आफ्ना आफन्तहरुलाई फर्किन आग्रह गरे पनि आत्माबिहीन भौतिक शरीर फर्किने छैनन्। पीडाले भक्कानिँदै गरेका आफन्तहरुको रोदनले खिरी अहिले शोकमा डुबेको छ।
सडकमा प्रदर्शन गरिरहेका बेला आशिषको जिपले ठक्कर दिएपछि आक्रोशित भएका किसान तोडफोडमा उत्रिएका थिए। उनीहरूले उक्त जिपमा आगो लगाइदिएका थिए। स्थानीय नागरिकका अनुसार मन्त्रीका छोरा खेततर्फ भागेर ज्यान जोगाएका थिए। त्यस्तै झडपमा १० भन्दा बढी किसान घाइते भएको बताइएको छ ।
भारतीय किसान युनियनका नेता राकेश टिकैतले कृषि कानुनको विरोधमा उत्रिएका किसानमाथि एक्कासी आक्रमण गरिएको दाबी गरेका छन्।