काठमाडौं- एमालेले एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ। एमालेको जारी विधान महाधिवेशनले यस्तो व्यवस्था पारित गरेको हो। ‘प्रतिनिधिले जिताउँछन् कि हराउँछन् उसको कुरा भयो तर दई पटक मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो,’ उपमहासचिव विष्णु पौडेलले भने।
यस्तै विधानमा ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको छ। संगठन विभाग प्रमुखसमेत रहेका पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भए पनि पूर्ण कार्यकाल काम गर्न पाउने बताए।
‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउनेछ। कार्यकालको बीचमै ७० वर्ष पुगे पनि पूरा कार्यकाल काम गर्ने पाउने व्यवस्था हुनेछ। यो व्याख्याले आगामी दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन्।
यस्तै एमालेमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय गरी तीन वटा तह मात्र हुने भएको छ। उपमहासचिव एवम् संगठन विभाग प्रमुख पौडेलले समूहबाट आएका सुझावका आइतबार जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन्।
उनले भने, ‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ।
उनले पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरो हटाउन लागिएको हो। पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको पौडेलले बताए। उनका अनुसार स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने भएको छ। उनले भने, ‘४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछ। केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन।’