काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीबाट अलग भएर नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)प्रति आम जनताको तिरस्कार रहेको दाबी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावारीमा शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पेस गरेको राजीनितिक प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो।
'निहित स्वार्थ, कुण्ठा र प्रतिशोधको जगमा अभिएको तथा विपक्षी शक्तिहरूको दुरुत्साहन र योजनामा जन्मिएको यस समूहप्रति पार्टीका अधिकांश नेता, कार्यकर्ता र आम जनताको आक्रोश र तिरस्कार छ,' ओलीको प्रतिवेदनमा दाबी गरिएको छ, 'एउटा उचाइमा पुगेको कम्युनिस्ट आन्दोलनलाई कमजोर गर्ने यस समूहका अवसरवादी, विभाजनकारी र आन्दोलनविरोधी चरित्रलाई जनस्तरसम्मै खण्डन, आलोचना र भण्डाफोर गर्नुपर्छ। आन्दोलन समाप्त गर्ने योजनालाई विफल गर्नुपर्छ।'
राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल र उनको नेतृत्वमा गठन भएको पार्टीको चर्को आलोचना गरेका थिए। एमाले विधान महाधिवेशन तीन दिनसम्म चल्नेछ।