काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्त गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।
नेपाल राष्ट्र बैंकको गभर्नरको पद खाली भएको एक महिना हुँदा पनि सरकारले नियुक्त गर्न नसकेको भन्दै प्रचण्डले सरकारको आलोचना गरेका हुन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीतिर हेर्दै गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे प्रश्न गरे।
‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन, दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु, हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह हाबी छ, जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन्,’ उनले भने।
यस्तै, प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्री ओलीले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको बताए।
उनले भने, ‘एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाइ छोड्नुभयो, कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई पनि निष्काशित गर्नुभयो।’
प्रचण्डले बिजुलीको अर्बौं बक्यौता नतिर्नेलाई खुसी पार्न कुलमानलाई विद्युत प्राधिकरणको नेतृत्वबाट हटाएको दाबी गरे।