काठमाडौं। जम्मु कस्मिरको पहलगाम पुलवामा निर्दोष पर्यटकमाथि भएको बर्बर आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइतेको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो।
‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ। नेपाल सबै प्रकारका आतंकवादको निन्दा गर्दछ। यो हाम्रो दृढ अडान हो। आतंकवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्’, विज्ञप्तिमा भनिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक नेपालीसहित २७ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन्।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कस्मिरको पहलगाममा निर्दोष पर्यटकमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन्।
सामाजिक सन्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्। ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ।’
उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्रीद्वारा घटनाको भत्र्सना
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कस्मिरको पहलगाममा जघन्य आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी हुन्। परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडित र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छन्। साथै, उनले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छन्।
‘नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ’, एक्समा उनले लेखेकी छन्।