काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ चैतसम्म इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३१ लाख नाघेको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार चैतसम्म इन्टरनेट जडान गर्ने ग्राहक संख्या ३१ लाख ३० हजार ६५५ पुगेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै ग्राहक वल्र्डलिंक कम्युनिकेसनका रहेका छन्। कम्पनीको इन्टरनेट जडान संख्या १० लाख ९३१ पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। कम्पनीको इन्टरनेट सेवामा बजार हिस्सा ३१.९७ प्रतिशत पुगेको छ।
यस्तै, एक वर्ष अवधिमा सरकारी स्वामित्वको नेपाल टेलिकमका इन्टरनेट ग्राहक साढे ३ लाख थपिएका छन् भने बजार हिस्सा ११.२० प्रतिशत पुगेको छ।
प्राधिकरणको विवरणअनुसार डिस मिडिया नेटवर्कको जडान संख्या ३ लाख ४६ हजारसहित बजार हिस्सा ११.०८ प्रतिशत छ।
सुबिसुको इन्टरनेट जडान संख्या ३ लाख १२ हजार पुगेको छ भने बजार हिस्सा ९.९९ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
प्राधिकरणका अनुसार भायानेटको इन्टरनेट जडान संख्या २ लाख ४५ हजार पुगेको छ। हालसम्म ३० लाख ९८ हजार फाइबर इन्टरनेट जडान भएको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ।
नेपालमा मोबाइल ब्रोडब्यान्ड, तारसहित र ताररहित इन्टरनेट सेवा सब्स्क्रिप्सन संख्या करिब ३ करोड पुगेको छ। प्राधिकरण तथ्यांकअनुसार इन्टरनेटका लागि प्रयोग हुने सिम कार्डको संख्या करिब ३ करोड हाराहारी छ।
हालसम्म ३० लाख ९८ हजार फाइबर इन्टरनेट जडान भएका छन्। मोबाइल इन्टरनेटको बजार हिस्सा ८९.८५ प्रतिशत र इन्टरनेट कम्पनीको हिस्सा ४४.७५ प्रतिशत छ।
नेपालमा हाल नेटवर्क सेवाप्रदायक २३, जीएसएम सेलुलर मोबाइल २, भीस्याट सेववा प्रयोगकर्ता ११, आधारभूत दूरसञ्चार सेवा १, इन्टरनेट/इमेलसहित १०७ गरी १४४ कम्पनीले लाइसेन्स/अनुमति लिएको प्राधिकरणका प्रवक्ता एवं निर्देशक सन्तोष पौडेलले जानकारी दिए।
पाँचवर्षे अवधिमा इन्टनेट जडान संख्या २८१ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
२०७६ चैतमा आइएसपीमार्फत इन्टरनेट जडान संख्या ८ लाख २१ हजार २४९ थियो। यसमा मोबाइल डेटा प्रयोगकर्ताको संख्या भने जोडिएको छैन।