काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्म विकास खर्च २९ प्रतिशतमा खुम्चिएको विवरण सार्वजनिक गरेको छ।
कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैत ३० सम्म सरकारको पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड बराबर मात्रै छ। पुँजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो।
विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ। वार्षिक विनियोजनको तुलनामा चैतसम्म ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो।
चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो। चैतसम्म ९ खर्ब ९८ अर्ब ५० करोड बराबर खर्च भएको छ।
त्यस्तै, चालू शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकामा ५९ दशमलव ४५ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब छ करोड बराबर खर्च भएको महालेखाले जनाएको छ।
वित्तीय व्यवस्था शीर्षकमा चैतसम्मको खर्च ५९ दशमलव २३ प्रतिशत बराबर छ। चालू आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले तीन खर्ब ६७ अर्ब २८ करोड ४५ प्रतिशत बराबर विनियोजन गरेकामा वार्षिक विनियोजनको ५९ दशमलव २३ प्रतिशत खर्च भएको हो।
यो अवधिको राजस्व संकलन पनि कमजोर छ। कुल १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म आठ खर्ब २१ अर्ब ६७ करोड बराबर मात्रै राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत बराबर हो।
त्यस्तै, यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २७ दशमलव २७ प्रतिशत अर्थात् रु १४ अर्ब २६ करोड ८८ लाख बराबर मात्रै अनुदान उठेको छ।