काठमाडौं। नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त प्रक्रिया थप एक साता पछि सरेको छ। गभर्नर छनौट सिफारिस समितिका सदस्य डा. विश्वनाथ पौडेल नेपालबाहिर गएपछि छनौट प्रक्रिया लम्बिएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सरकारले गत चैत १२ गते पूर्वगभर्नर विजयानाथ भट्टराई र अर्थविद् डा. पौडेलसहित सदस्य छनौट सिफारिस समिति गठन गरेको थियो। १७औँ गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते कार्यकाल समाप्त गरी राष्ट्र बैंकबाट बिदा भइसकेका छन्। योसँगै गभर्नर छान्न अर्थमन्त्रीको अध्यक्षता सरकारले समिति गठन गरे पनि हालसम्म समितिको बैठक बस्न सकेको छैन।
अर्थ मन्त्रालयले चैत २५ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर डा. निलम तिमल्सिना ढुंगानालाई कायममुकाय गभर्नरको जिम्मेवारी दिएको छ। कामु गभर्नरको भरमा मुलुकको केन्द्रीय बैंक चलिरहँदा छनौट समितिको सिफारिसमा गभर्नर टुंगो लगाउने तरखरमा देखिन्दैन।
नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरणको सरकारले गभर्नर आफ्नै क्यान्डिडेट बनाउने गरी अघि सारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर महिलालाई बनाउने भन्दै कामु गभर्नर डा. ढुंगानालाई अघि सारिरहेका छन्।
सोअघिको मन्त्रिपरिषदको बैठकमा कांग्रेस सभापति देउवाले क्षेत्रीलाई गभर्नर बनाउने गरी बैठकमा एजेण्डा राख्न प्रधानमन्त्री ओलीलाई आफ्नो मत राखेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वमूख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउने लागिपरेका छन्। कांग्रेसले आफ्नो क्यान्डिटेडलाई गभर्नर बनाउने अडान राखेपछि गत साताको मन्त्रिपरिषदको बैठकमा गभर्नर नियुक्तिसम्बन्धी एजेण्डा पर्न सकेको थिएन।
सोअघिको मन्त्रिपरिषदको बैठकमा कांग्रेस सभापति देउवाले क्षेत्रीलाई गभर्नर बनाउने गरी बैठकमा एजेण्डा राख्न प्रधानमन्त्री ओलीलाई आफ्नो मत राखेका थिए। तर, ओलीले उक्त समय देउवाको प्रस्तावलाई बेवास्ता गरेकाले अहिले कांग्रेस पनि गभर्नर नियुक्ति प्रक्रिया लम्ब्याउने र आफू अनुकुल वातावरण सिर्जन गर्नेतर्फ अग्रसर भएको देखिन्छ।
कांग्रेस-एमालेबीच गभर्नर नियुक्तिमा साझा धारणा बन्न नसकेपछि समिति सदस्य व्यक्तिगत कामले विदेश गएका हुन्। कांग्रेस सभापति देउवाको अनुमति लिएर गभर्नर छनौट समिति सदस्य डा. पौडेल चैत ३० गते (शनिबार) विदेश गएका हुन्। उनी वैशाख ६ गते नेपाल फिर्ता हुने छन्।
डा. पौडेल नेपाल फिर्ता भएपछि समितिका संयोजक अर्थमन्त्री पौडेल बोलाएमा बैठक बस्ने र सिफारिसको आधारमा मन्त्रिपरिषदले वैशाख ८ गते सोमबार बसेर गभर्नर नियुक्त गर्ने सम्भाावना देखिन्छ।