काठमाडौं। बिजुली विवादले बदनाम ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको उपल्लो नेतृत्व तहमा सुमधुर सम्बन्ध नरहेको संकेत देखिएको छ।
तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्तगीमा ऊर्जामन्त्री दीपक खड्काको बलजफ्तीविरुद्ध विभागीय राज्यमन्त्री पूर्णबहादुर तामाङले विरोध जनाएका थिए। तर, राजनीतिक लाभहानिका अगाडि राज्यमन्त्री निरीह भए/बनाइए।
ऊर्जामन्त्री खड्कालाई देखाएर राज्यमन्त्री तामाङको खेदो खन्नमा ऊर्जासचिव सुरेश आचार्य पनि संलग्न रहेको घटनाक्रमले देखाएका छन्।
पदीय हैसियतमा आफूभन्दा माथिल्लो तहका ऊर्जाराज्यमन्त्रीलाई बिच्काउने कामममा सचिव आचार्य संलग्न रहेको देखिएको हो।
राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम वहिष्कार गर्नुको कारणसहितको जवाफ दिन २४ घन्टे स्पष्टीकरण सोधेका हुन् ।
राज्यमन्त्री तामाङको सचिवालयले बिहीबार साँझ सचिव आचार्यलाई स्पष्टीकरण बुझाउन पत्र लेखेको हो।
मन्त्री दीपक खड्का कार्यक्रममा अनुपस्थित भएपछि जलस्रोत तथा सिँचाइ विभागले चैत २५ मा गरेको कार्यक्रममा राज्यमन्त्री तामाङलाई प्रमुख अतिथि बनाइएको थियो।
विभागको सभाहल प्रवेशका क्रममा कार्यक्रम सञ्चालकले उद्घाटनमा आसन ग्रहणका लागि बोलाउँदासमेत सचिव आचार्य मञ्चमा सहभागी नभई बेवास्ता गरी बाहिरिएका थिए।
राज्यमन्त्री तामाङले भने, ‘विभागका महानिर्देशक सञ्जीव बरालले पटक–पटक आसन ग्रहणका लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको तुच्छ अभिव्यक्ति दिएकोलगायतका विषयमा स्पष्टीकरण मागिएको हो।’
सचिवको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएकाले ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भनी स्पष्टीकरण सोधिएको छ।
