काठमाडौं। यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १:०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ।
कम्पनीले यसअघि १:१ को अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने निर्णयलाई संशोधन गरी १:०.६५ को अनुपातमा सेयर जारी गर्ने प्रस्ताव पेश गरेको थियो।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत भएको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरणलगायत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने, हकप्रद सेयर निष्कासन लागि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, हकप्रद सेयर जारी तथा निष्कासन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन गर्ने भएको छ।
यस्तै, सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नु परेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ।