जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश विकासका सम्भावना र लोकतन्त्रका लागि बलियो आधारभूमि रहेको बताएका छन्।
आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने धारणा व्यक्त गरे।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको संघर्षबाट प्राप्त उपलब्धिका रुपमा लिनुपर्छ। त्यसकारण हाम्रा प्रयास जनताको सेवामा समर्पित हुनुपर्छ। परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ।’
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै मधेसबासीले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको प्रशंसा गरे।
संविधानले मधेस प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।
प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाको उर्बर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले सुनकोशी मरिन डाइभर्सन आयोजनाले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए।
प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, द्रुतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।
उनले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवं छिन्नमस्ता, गढीमाईलगायत देवदेवीहरुको भूमि मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै अब विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिए।–रासस