पछिल्लो समय हरेक चाडपर्व होस या बिदाको समय। नेपालीहरू केही दिनको बिदा हुनेबित्तिकै घुमघाममा निस्किहाल्छन्। दसैं–तिहारको बिदा होस् या अंग्रेजी र नेपाली नयाँ वर्ष। जुन बेला केही लामो बिदा हुन्छ, घुमघामको योजना बनाइहाल्छन्। अहिले धेरै नेपालीहरू घुमघाममा अभ्यस्त भइसकेका छन्।
नयाँ वर्ष २०८१ को बिदाइ र २०८२ को स्वागतका लागि धेरै नेपालीले घुमघाममा निस्कने योजना बनाइसकेका छन्। जो यो वर्षको बिदाइ र अर्को वर्षको स्वागत सेलिब्रेसन कहाँ गएर गर्ने भन्ने सोचमा छन्, तिनका लागि यी गन्तव्य उपयुक्त हुन सक्छन्।
बन्दीपुरको धरमपानी
बन्दीपुर बजार स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य भए पनि यस आसपासका गाउँ ओझेलमै छन्। बजार नजिकका गाउँमा प्रचुर सम्भावना भए पनि ओझेल परेको छ।

त्यसैमध्ये बन्दीपुर गाउँपालिका-६ मा पर्ने सुन्दर गाउँ र धरमपानी प्रमुख हो। बाक्लो गुरुङ बस्ती, शान्त र प्राकृतिक सौन्दर्यले भरिपूर्ण धरमपानीका स्थानीयले जीवित राखेको संस्कृतिले गाउँलाई पृथक राखेको छ।
धरमपानीमा रहेका करिब एक दर्जन होमस्टे (घरबास)मा पर्यटकलाई खान र बस्न गुणस्तरीय सुविधा छ। यी होमस्टेमा स्थानीय परिकारको स्वाद लिन सकिन्छ। होमस्टेमा रातिको खाना, ब्रेकफास्ट र बस्नलाई एक जनाको मात्रै आठ सय रुपैयाँ तोकिएको कन्यादेवी सामुदायिक होमस्टेका अध्यक्ष लालमाया गुरुङ बताउँछिन्।
बिहानको खानासहित प्याकेज बनाउँदा एक हजार रुपैयाँ तिर्नुपर्छ। होमस्टेमा बस्दा गुरुङ समुदायको परम्परागत चुड्का, घाटुलगायत नृत्य अवलोकन गर्न सकिन्छ। स्थानीयको आतिथ्य र सद्भावले पर्यटकलाई गाउँको संस्कृति अनि जीवनशैली बुझ्न र अनुभव गर्न मद्दत गर्दछ।

धरमपानीमा गाउँले दिनचर्याका सबै दृश्य देख्न पाइन्छ। ढिकी–जाँतो, मोही र रक्सी बनाउने परम्परागत विधि प्रमुख आकर्षण हुन्। सालको पातको टपरीमा रैथाने खानाको स्वाद पस्किने परम्पराले धरमपानीको सांस्कृतिक महत्त्व बढाएको छ।
धरमपानीबाट करिब साढे तीन किमि दूरीमा हुस्लाङकोटगढी पुग्न सकिन्छ। यहाँबाट सेती नदीका साथै मनमोहक दृश्य अवलोकन गर्न पाइने बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङ बताउँछन्।
कसरी पुग्ने?
पोखराबाट यात्रा गर्दा तनहुँको दमौलीबाट बुद्धसिंह मार्ग हुँदै करिब १८ किलोमिटर टाढा छ, धरमपानी। दमौलीको भोर्लेटार चोकबाट बसमा केशवटार, सुखौरा, चिसापानी र हुस्लाङ हुँदै पनि धरमपानी पुग्न सकिन्छ। बस भाडा ३२० रुपैयाँ लाग्छ। डुम्रेबाट बन्दीपुर हुँदै जिपमा बन्दीपुर जाँदा ३५० रुपैयाँ भाडा लाग्छ। दुवैतिरबाट धरमपानी करिब डेढ घन्टामा पुग्न सकिन्छ।
जिरीको चेर्दुङडाँडा
दोलखाको जिरी नगरपालिका र गौरीशंकर पालिकामा अवस्थित चेर्दुङडाँडा सूर्याेदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात छ। समुद्री सतहबाट ३६९० मिटर उचाइको यो स्थान धार्मिक र प्राकृतिक सुुन्दरताले भरिपूर्ण छ।

नजिकैबाट देखिने गौरीशंकर, नुम्बुर, माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङ हिमशृंखलाको दृश्यावलोकनले मनै फुरुंग बनाउँछ। चेर्दुङडाँडाबाट दिउँसो, रात्रिकालीन र बिहान–बेलुकाको सूर्योदय अनि सूर्यास्तको दृश्यले जोकोही लोभिन सक्छन्। काठमाडौंबाट १८८ किलोमिटर गाडीबाट जिरीमा पुगिन्छ। एक रात बास बस्दा जिरीको चौंरीको चीज, चिया, किबी सिजनअनुसार खान पाइन्छ।
अहिले जिरी लिंकन बजारबाट क्याङ्से पोखरीसम्म यातायात सुविधा छ। यहाँबाट विभिन्न प्रजातिका फूल, वनजंगल, भीरपाखा, जडीबुटी र हिमशृं्खला नियाल्दै हिँड्दा बाटो कटेको पत्तै हुँदैन। करिब साढे १ घन्टा पैदल हिँडेपछि गन्तव्य चेर्दुङडाँडा। बौद्ध तथा हिन्दु धर्मावलम्बी मेला लाग्ने बेला दर्शन गर्न यहाँ पुग्छन्। यतिबेला यहाँ बिहान, बेलुक–समय समथर फाँट राताम्य देखिन्छन्।
हिमाली जिल्ला दोलखाको जिरी प्राकृतिक रुपमा समृद्ध छ। सदरमुकाम चरीकोटबाट ५५ किलोमिटर पक्की सडक हुँदै जिरी पुग्न सकिन्छ। सगरमाथाको प्रवेशद्वारको रुपमा पनि परिचित छ, जिरी। दोलखा प्रवेश गरेका जोकोही एकपटक जिरी पुग्ने गर्छन्। जिरेल समुदाय बाहुल्य जिरीको आफ्नै मौलिकता छ। प्राकृतिक सुन्दरताका साथै जिरी उपत्यकाले जोकोहीको मन मोहित बनाउँछ।
जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ हिमाल, दोलखा र रामेछापका अधिकांश गाउँ तथा बस्ती अवलोकन गर्न सकिन्छ।
कसरी जाने?
सार्वजनिक यातायातमा जान काठमाडौंको कोटेश्वरबाट बस, माइक्रो, टाटा सुमो र विद्युतीय गाडी चढेर सहजै पुग्न सकिन्छ। दुई‑तीन दिनको अवधिमा जिरी घुम्न पर्याप्त भए पनि निजी सवारी साधनमा जान सके एक दिनको यात्रा पनि बन्न सक्छ।
मुक्तिनाथ
प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य मुक्तिनाथ जीवनमा एकपटक पुग्ने इच्छा जो–कोहीले गर्छन्। पछिल्लो समय मुक्तिनाथ धार्मिक दृष्टिले बढी चर्चामा रहेकामा नयाँ पुस्ताले प्राकृतिक सुन्दरताको मनमोहक गन्तव्यका रूपमा प्राथमिकतामा राख्ने गरेका छन्।

सामान्यतया अक्टुबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटकको भीडभाड देखिन्छ। यो भीडमा स्वदेशी तथा विदेशी पर्यटक हुन्छन्। मुक्तिनाथ कोही हवाई रुटबाट जान्छन् भने अधिकांश स्थलमार्गबाट पुग्छन। स्थलमार्गमा पनि हिँडेर र गुडेर पुग्ने दुवै विकल्प छन। मुक्तिनाथ मन्दिर परिसरमा अवस्थित १०८ जलाधारमा नुहाउँदा आत्माशुद्धि, नवीकरण र मोक्ष प्राप्त हुने जनविश्वास छ। मुक्तिनाथ मन्दिर अन्नपूर्ण सर्किटमा पर्ने जोमसोमबाट २४ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ। तसर्थ, अन्नपूर्ण सर्किट वरिपरि पदयात्रा गर्ने पदयात्रीबाट मन्दिर भ्रमण हुन्छ।
मुक्तिनाथ क्षेत्रलाई मुक्तिक्षेत्र भनेर पनि चिनिन्छ, जहाँबाट मोक्ष प्राप्त गर्न सकिने जनविश्वास छ। नेपालका चार धाममध्ये यो एक हो। यो मन्दिरलाई वैष्णव सम्प्रदायले पवित्र मान्ने १०८ दिव्य देशाटनमध्ये १०६औं मन्दिरका रुपमा मानिन्छ।
कसरी जाने मुस्ताङ?
मुक्तिनाथ कोही हवाई रुटबाट जान्छन् भने अधिकांश स्थलमार्गबाट पुग्छन्। अधिकांश पर्यटकले सदरमुकाम जोमसोमदेखि तीन घन्टाको पैदलयात्रामा पुगिने कागबेनीसम्मको तल्लो मुस्ताङको यात्रा रुचाउँछन्। विकट भूबनोट रहेको उपल्लो मुस्ताङ तिब्बती रहनसहन र संस्कृतिको भण्डार पनि हो, जहाँ प्राचीन गुम्बाहरू, स्तुपा आदि दर्शनीय मानिन्छन्।
काठमाडौंदेखि निजी सवारी साधनमा मुस्ताङ जान सकिन्छ। पोखरा–जोमसोम दैनिक हवाईजहाज पनि चल्छ।
कञ्चनजंघा बेस क्याम्प
विश्वको तेस्रो अग्लो हिमालका नामले परिचित छ, कञ्चनजंघा। यसको उचाइ ८ हजार ५५६ मिटर छ। विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)भन्दा कञ्चनजंघा २५ मिटर मात्रै होचो छ। यसको मनमोहक दृश्य अति नजिकबाट नियाल्न बेसक्याम्प पुग्नैपर्ने हुन्छ। काठमाडौंबाट ८–१० दिनसम्म कञ्चनजंघाको दुवै बेस क्याम्प पुगिन्छ ।
कसरी जाने?
काठमाडौंबाट भद्रपुरसम्म जहाजमार्फत वा बिर्तामोडसम्मको गाडीमा पनि जान सकिन्छ। बिर्तामोडबाट जिपमा ताप्लेजुङको फुङलिङसम्म जान सकिन्छ। त्यहाँबाट थिवासम्म फेरि गाडी परिवर्तन गर्नुपर्छ। आफ्नै रिजर्भ सवारी हुँदा सहज हुन्छ। अर्को बाटो ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ।

ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठ वटा क्याम्पमा पैदलै यात्रा गर्नुपर्छ। उत्तरी बेस क्याम्प पुगिसकेपछि घुन्सा झरेर दक्षिणी बेसक्याम्प जान सकिन्छ। त्यहाँ पुगेपछि कञ्चनजंघाको काखैमा बसेर मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग। विश्वका उत्कृष्ट दस पदमार्गभित्र पर्ने भएकाले यो पदमार्ग विश्वभर परिचित छ। यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ। यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकाले पनि अन्य पदमार्गजस्तो पैदलयात्रीलाई समस्या हुँदैन। ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लज छन्। यसकारण पदयात्राका क्रममा खान र बस्न सहज छ।
अन्नपूर्ण हिमालको काखैमा बसेर अन्नपूर्ण साउथ, अन्नपूर्ण थर्ड, माछापुच्छ्रे, टेन पिक आदि हिमशिखरको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। यहाँ पुग्न ५/७ दिनको समय छुट्याउनुपर्छ।
कसरी पुग्ने?
लमजुङको बेंसीसहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ। बेंसीसहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङको ताल, बगरछाप, चामे, थोरङपासबाट मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ। यसबाहेक पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण बेस क्याम्प पुगेर पुनः पोखरा आउनलाई ११ दिन छुट्याउनुपर्छ।
आमा यांग्री
काठमाडौंबाट करिब ९० किलोमिटरको दूरीमा पर्ने ३ हजार ७७१ मिटर उचाइमा रहेको आमा यांग्री पछिल्लो समय धार्मिक रूपमा मात्रै नभई पर्यटकीय क्षेत्रको रूपमा समेत प्रख्यात छ।
मौसम खुलेका बेला आमा यांग्रीबाट विभिन्न हिमशृंखला देख्न सकिन्छ। आमा यांग्री पिकबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, यांग्र्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जन बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। आमा यांग्रीमा प्राचीन गुम्बा, स्तुपा दर्शन र अवलोकन गर्न पाइन्छ। काठमाडौंबाट तार्केघ्याङसम्म सार्वजनिक बसमा जान सकिन्छ। आफ्नो सवारीसाधन भए बेस क्याम्पसम्म एकै दिनमा पुग्न सकिन्छ।

आमा यांग्र्री बेस क्याम्पबाट बिहान ४ बजे हिँडे दुई–तीन घन्टामा आमा यांग्री पिक पुगेर सोही दिन काठमाडौं फर्किन सकिन्छ। यो ट्रेल दुई दिनमा पूरा हुन्छ। आमा यांग्री काठमाडौं उपत्यका नजिकको अग्लो चुचुरोमध्येको एक हो। आमा यांग्र्रीलाई सम्पूर्ण ह्योल्मो उपत्यका क्षेत्रको रक्षा गर्ने देवता मानिने किंवदन्ती छ। पदयात्रा मार्ग दर्शनीय छ, हरियाली जंगल र सुन्दर गाउँले भरिएको छ। यो पदयात्रा काठमाडौं नजिकै छोटो र सजिलो पदयात्रा खोज्नेका लागि उपयुक्त छ।
कसरी जाने?
काठमाडौंबाट तार्केघ्याङसम्म सार्वजनिक बसमा जान सकिन्छ। आफ्नो सवारीसाधन भए बेस क्याम्पसम्म एकै दिनमा पुग्न सकिन्छ। बेस क्याम्पबाट बिहान ४ बजे हिँडे भने दुई–तीन घन्टामा आमा यांग्री पिक पुगेर सोही दिन काठमाडौं फर्किन सकिन्छ। यो ट्रेल दुई दिनमा पूरा हुन्छ।
दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर र कार्यालुङ हिमालको काखैमा छ, दूधकुण्ड ताल। यी दुवै हिमालबाट आएको पानी जमेर बनेको यो ताल समुद्री सतहदेखि झन्डै ४ हजार ७ सय मिटरको उचाइमा छ। यहाँ रमणीय विशाल तालदेखि नजिकै नुम्बुर र कार्यालुङ हिमाल अवलोकन गर्न सकिन्छ
सदरमुकाम सल्लेरीबाट झन्डै २० कोषको दूरीमा अवस्थित यो स्थानसम्म पुग्न पैदल यात्रा नै गर्नुपर्छ। भौगोलिक रुपमा अत्यन्तै विकट भए पनि प्राकृतिक सुन्दरताको खानी छ। दूधकुण्ड ताल मात्र नभएर भूतपोखरी, गंगाजमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। यो तालको यात्रा गर्न ५/७ दिन छुट्याउनुपर्छ।
कसरी जाने दूधकुण्ड?
काठमाडौं कोटेश्वरदेखि बस, जिप तथा मोटरसाइकल प्रयोग गरी सडकमार्गबाट करिब १० घन्टामा सल्लेरी पुगिन्छ। हवाई मार्गबाट जाँदा त्रिभुवन विमानस्थलबाट झन्डै ४५ मिनेटको उडानमै सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल पुगिन्छ। सदरमुकाम सल्लेरीबाट रिङमुसम्म सडक छ। पैदल हिँड्दा भने फाप्लु, चिवाङ, फेरा हुँदै झन्डै ४ घन्टामा रिङमु पुग्न सकिन्छ। गाडीबाट हो भने १ घन्टामा पुगिन्छ। रिङमुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्न विदेशी तथा स्वदेशी पर्यटकका लागि उपयुक्त लज तथा होटल प्रशस्तै पाइन्छन्।

रिङमुबाट नाम्चेतर्फ जाने बाटो छाडेर दूधकुण्डतर्फ जाने बाटोतर्फ लाग्नुपर्छ। झन्डै ३ घण्टा उकालो हिँडेपछि कामीडाँडा पुगिन्छ। कामीडाँडा पुग्दा ४/५ बजेको भए बास बस्दा उपयुक्त हुन्छ। कामीडाँडाबाट यात्रा गर्दा जोङले खोला, गामटाङ हुँदै सहश्रबेनीमा पुगेर बास बस्नुपर्छ। भोलिपल्ट बिहान दूधकुण्डको यात्रा तय गर्नुपर्छ। सहश्रबेनीबाट दूधकुण्डसम्म ३ घन्टा हिँडेपछि पुगिन्छ।
चित्लाङ
काठमाडौं उपत्यका नजिकै घमफिर गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ, चित्लाङ। अझ, सहरको भीडभाडलाई एकैछिनमा छिचोेल्दै हरियाली जंगलको बीचमा प्राकृतिक बैंगचामा रमाउँदै ग्रामीण परिवेशमा डुबुल्की मार्न खोज्नेका लागि चित्लाङले स्वागत गरिरहेको हुन्छ। मकवानपुरकोे चित्लाङ पनि घुम्नलायक र रमणीय स्थलका रुपमा परिचित छ।
चित्लाङ ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजंगलको मनमोहक दृश्यले भरिपूर्ण छ। चित्लाङमा विश्वकै दुर्लभ र एसियामा मात्र पाइने ‘अल्पाका’ जनावर छन्। तुलसीपछि अक्सिजनमा दोस्रो मानिने ओलिभ (जैतुन)फर्म यहाँको अर्काे आकर्षण केन्द्रबिन्दु हो। थुप्रै ऐतिहासिक स्थलमध्यको अशोक चैत्य पनि छ। तालका छेउमा होमस्टे छन्। यस्तै, आसपासमा बसोबासका लागि सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत सञ्चालनमा छन्।
कसरी पुग्ने?
कलंकी, चन्द्रगिरि, थानकोट हुँदै १० किलोमिटर दूरी, काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै करिब २७ किलोमिटर दूरी, दक्षिणकाली–फर्किङ–कुलेखानी भएर जाँदा ५२ किलोमिटर दूरी र थानकोट–नौबिसे टिस्टुङ हुँदै ७५ किलोमिटरको दूरीमा चित्लाङ पुग्न सकिन्छ।