काठमाडौं। चीन भ्रमणमा रहेको नेपाली कांगेसको प्रतिनिधिमण्डलसँग चीनले 'बीआरआई' परियोजना अनुदान नभएको स्पष्ट पारेको छ। चीनको बेइजिङमा चिनियाँ कुटनीतिज्ञ सरला र रेनमिन विश्वविद्यालयका प्राध्यापक डा. सिलुसहितले बीआरआई अनुदान नभई व्यवहारिक सहयोग भएको स्पष्ट पारे।
उनीहरूले सहुलियत ब्याज दरमा नेपालले बिबिध क्षेत्रमा ऋण लिएर आफ्नो देशको विकास गर्न सक्ने धारणा राखे। यसका लागि केही शर्तहरु चीन सरकारका रहने र त्यसबारे सम्झौताको चरणमा खुलस्त पारिने पनि उनीहरूले स्पष्ट पारे।
चिनियाँ प्रतिनिधिमण्डललाई जवाफ दिँदै पूर्व उपप्रधानमन्त्री एवम कांग्रेस नेतृ सुजता कोइरालाले नेपाल अनुदान नभई ऋण लिन इच्छुक रहेको धारणा राखिन्। देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, देशको विकास र समृद्धि तथा दुई देशबीचको परस्पर सम्बन्धका लागि पनि ऋण उपयुक्त हुने उनको भनाइ थियो।
बीआरआई कार्यान्वयनमा लैजाँदा नेपालको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृतिसहित चौतर्फी विकासमा मद्दत पुग्नुका साथै नेपाली कामदारका लागि चीनमा रोजगारीसमेत सृजना हुने कोइरालाको भनाइ छ। चिनियाँ कामदारले पनि नेपालमा व्यवसाय र रोजगारीको अवसर पाउने उनी बताउँछिन्।
बीआरआई पूर्णतः अनुदानमा खोज्नु भनेको नेपालको विकास गर्न नचाहनु र बीआरआई नेपालमा असफल पार्ने मनसाय भएको उनको भनाइ छ। नेता बर्मा लामाले बीआरआईमा अझै स्पष्ट हुनुपर्ने भएकाले नेपाली जनताले बुझाउन चिनियाँ पक्षलाई आग्रह गरे।
अन्तक्रिर्यामा कांग्रेस नेतृ किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराललगायत सहभागी थिए।