काठमाडौं। भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरा जस्ता सामग्रीमाथि आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन्।
अर्थ समितिको बैठकमा बोल्दै उनले दुबई र हङकङबाट सुन तस्करी हुने गरेको देखिएको बताउँदै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको आर्थिक स्रोत खोजिनुपर्ने बताएका हुन्।
‘झिटीगुण्टासम्बन्धी कानुनले महिलाका लागि ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुन ल्याउनसक्ने व्यवस्था गरेको छ। हप्तादिनका लागि दुबई घुम्न गएकाले त्यहाँबाट फर्किंदा ५० ग्राम सुन, दुई वटा आइफोन, कम्प्युटर, क्यामेरालगायत सामग्री लिएर आउने प्रवृत्ति छ। दुबई र हङकङका विमानस्थलमा सुन पठाउने गिरोह हुनुपर्छ,’ भट्टराईले भने, ‘एक हप्तापछि फर्किंदा अमेरिकी डलर पाँच हजार बराबरको सुन लिएर आउँछन्। झिटीगुण्टा कानुनले तोकेको मापदण्डभित्रै भए पनि त्यसको आर्थिक स्रोत खोज्ने हो भने यो सरासर तस्करीका रूपमा लिन सकिन्छ।’
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई दैनिक २० किलो सुन आयात गर्न दिने गरेको बताउँदै झिटीगुण्टाका रूपमा दैनिक त्योभन्दा बढी सुन नेपाल आइरहेको उनको भनाइ थियो। ‘म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखका रूपमा रहँदा त्यहाँ एक दिनमा २२ किलोसम्म सुन झिटीगुन्टाका रूपमा आएको भेटियो। त्यो सुन गरगहनाका रूपमा व्यक्तिगत प्रयोगका लागिभन्दा पनि अधिकांश बजारमा जाने गर्दछ,’ उनले थपे।
बैठकमा सभापति सन्तोष चालिसेले त्रिभुवन विमानस्थल भन्सारबाट अवैध सुन भित्रिने गरेकाले वैध रूपमा ल्याइएको सुनलाई पनि भन्सार कर्मचारीले दुःख दिने गरेको गुनासो आइरहेको बताए।