काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको चौधौं महाधिवेशन कार्यतालिकाअनुसार भदौमा गर्न आफू प्रतिबद्ध रहेको प्रतिबद्धता जनाएका छन्। यस्तै उनले महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटकपटक आउने गरेका अभिव्यक्ति गलत रहेको पनि स्पष्ट पारेका छन्।
सभापति देउवाले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, '२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु।’ उनले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताएका छन्।
पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भई काम भइरहेको देउवाको भनाइ छ।
देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएकाले पार्टी जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको उल्लेख गरेका छन्। देउवाको वक्तव्यमा उल्लेख छ, ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन। बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो।’ उनले यसका लागि जिम्मेवार हुन सबैलाई आग्रह गरेका छन्।
देउवाले भनेका छन्, ‘हामीसँग अब बढी समय छैन। असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्छ।’ पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भई काम भइरहेको देउवाको भनाइ छ।
उनले पार्टी कार्यकर्तालाई महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट दत्तचित्त भई लाग्न आह्वान गरेका छन्। उनले भनेका छन्, ‘कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु।’ देउवाले सरकारले जनताको स्वास्थ्यबारे समयमा गम्भीर भई इमानदारीपूर्वक काम नगरेका कारण महामारीको जटिल अवस्थाको सामना गर्नुपरेको बताएका छन्। उनले भनेका छन्, ‘यसमा सरकार पूर्ण रुपले दोषी छ।’