ताप्लेजुङ। कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकारले स्थानीय पर्यटन, रोजगार र आर्थिक समृद्धि बढाउने भए पनि केही समूहले यसको निर्माणमा अवरोध गरिरहेका छन्।

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने र यात्रुलाई सहजता दिने उद्देश्यले निर्माण हुन लाग्दा केही स्थानीय समूहहरूले मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै विरोध गरिरहेका छन्।
कम्पनीले शनिबार राजधानीमा प्रेस मिट आयोजना गरेर केबलकार निर्माणको अवस्थाबारे जानकारी गराउँदै विरोध गर्ने समूहले उठाएका विषयको वास्तविकता प्रस्ट्याएको छ।
चार दशक पुरानो योजना, अहिले किन विरोध?
पाथीभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा मात्र पाथीभरा देवी दर्शन केबलकार प्रा.लि. स्थापना गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। परियोजनाले २०७५ मा मन्त्रिपरिषद् निर्णयअनुसार केबलकार निर्माण अनुमति प्राप्त गरेको थियो।
करिब दुई वर्षअघि आइएमई समूहको प्रवेशसँगै निर्माणले गति लिएको हो। सरकारबाट आवश्यक सबै कानुनी अनुमति प्राप्त भइसकेपछि यसलाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी काम अघि बढाइएको छ।

कस्तो बन्दै छ केबलकार?
२.७५ किलोमिटर लामो केबलकार ताप्लेजुङको फुङलिङ नगरपालिका-११ काफ्लेपाटीबाट पाथीभरा मन्दिरभन्दा ७०० मिटर पश्चिमसम्म निर्माण गरिँदै छ।
३६ यात्रुवाहक गोन्डोला र २ मालवाहक गोन्डोला रहने छन्। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न १० मिनेट ३१ सेकेन्ड मात्र लाग्ने छ। केबलकारका सबै उपकरण विश्व प्रसिद्ध कम्पनीहरूबाट ल्याइँदै छन्।
माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाका लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ। मन्दिर परिसर वा यसको सांस्कृतिक सौन्दर्यमा कुनै असर नपर्ने कम्पनीकाे भनाइ छ।
स्थानीय अर्थतन्त्रमा प्रभाव
परियोजनाको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ। निर्माणपछि करिब ३०० जनाले प्रत्यक्ष रोजगारी पाउने छन्। जसमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने छ। आइएमई समूहले स्थानीयलाई शेयर तथा लगानीको अवसर प्रदान गर्ने योजना बनाएको छ।
केबलकार निर्माणपछि तीर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकला सामग्री) प्रवर्द्धन गर्ने छ। ताप्लेजुङ हुँदै झापादेखि तमोर कोरिडोरसम्म होटल, यातायात, रेस्टुरेन्ट तथा व्यवसाय विस्तार हुनेछ।
केबलकार विद्युतीय यातायात भएकाले कुनै प्रदूषण हुँदैन। वातावरणीय प्रभावलाई न्यून गर्न काट्नुपर्ने प्रत्येक रूखबापत २५ नयाँ रूख वृक्षारोपण गरिनेछ। ती बिरुवा ५ वर्षसम्म संरक्षण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने छ।
केबलकार विरोधको कारण के?
पैसा तिर्न सक्नेहरूले हेलिकप्टर चार्टर गरेर लाखौँ खर्चेर दर्शन गर्न सक्छन्। पैदल हिँड्न नसक्ने यात्रुहरू भरियाको सेवा लिएर प्रतिकिलो २०० रुपैयाँसम्म तिर्छन्। तर, सस्तो, छरितो र सुरक्षित यात्राको लागि निर्माण हुन लागेको केबलकारलाई केही समूहले विरोध गरिरहेका छन्।
परियोजनाको सुरुवाती चरणमै विवाद उत्पन्न हुनु नेपालमा लगानीमुखी वातावरणका लागि चुनौतीपूर्ण संकेत हो। स्थानीयवासी, सरकार, पर्यटन व्यवसायी, वातावरणवि र धार्मिक क्षेत्रका अगुवाहरूबीच समन्वय गरेर निर्माणलाई गति दिनुपर्ने कम्पनीले जनाएको छ।
निजी लगानी र दुरुत्साहनको प्रश्न
आइएमई समूह २०७९ मा परियोजनामा ठूलो लगानीसहित प्रवेश गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालका अनुसार सात वटा प्रदेशमा पर्यटन पूर्वाधार निर्माण गर्ने योजनाअन्तर्गत पाथीभरा केबलकार परियोजना अघि बढाइएको हो।

तर, हाल आएर स्थानीयभन्दा बाहिर बस्ने केही समूहले सामाजिक सञ्जालमा परियोजनाविरुद्ध प्रचार गर्दै निजी लगानीलाई दुरुत्साहित गर्ने प्रयास गरिरहेको आरोप छ।
कम्पनीले पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले केबलकार निर्माणले कुनै धर्म, संस्कृति वा परम्परामा असर नपार्ने स्पष्ट पारेको छ।