सोमबार, असार २, २०८२

एनआरएनए न्यूयोर्कको सचिवमा चलचित्रकर्मी शाहको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्ष (२०२१–२०२३) को न्युयोर्क राज्यको सचिव पदमा चलचित्रकर्मी रेशमजंग शाहले उम्मेदवारी दिएका छन्। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्ष (२०२१–२०२३) को न्युयोर्क राज्यको सचिव पदमा चलचित्रकर्मी रेशमजंग शाहले उम्मेदवारी दिएका छन्। 

न्यूयोर्क सहरमा बस्दै आएका शाहले संगठनमा भएका विकृति, विसंगतिविरुद्ध आवाज उठाउनका लागि पनि आफूले सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। उनी सन् २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका थिए।

उनले विदेशमा रहेका नेपाली सन्ततिलाई भाषा, संस्कृति र संस्कार अनिवार्य गर्नका लागि आफूले सधै पहल गर्ने बताएका छन्। शाहले विदेशमा रहँदा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने आफ्नो प्रमुख लक्ष रहेको पनि बताए।

२०७२ को गोरखा महाभूकम्पमा राहत, उद्धार तथा पुनर्वासका लागि उनी डटेर लागेका थिए। उनले काभ्रे र सिन्धुपाल्चोकमा तामाङ, मगर तथा दलित समुदायका लागि ५२ वटा अस्थायी आवास निर्माण गरेका थिए। साथै उनले गोरखा, लमजुङ, तनहुँ र नुवाकोटमा पनि पीडितलाई राहत सामग्री बाँडेका थिए।

नेपालमा रहँदा समाजसेवीका साथै कृषकको छबी बनाएका शाहले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा दरबार कृषि तथा पशुपक्षी फर्म सञ्चालन गरेका थिए।

उनी नेपालमा रहँदा ठकुरी सहयोग संजाल नामक संस्थामार्फत् विभिन्न समुदायमा सेवामुखी कार्यमा संलग्न थिए। युएनडिपीको एचआईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका विभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव पनि शाहसँग छ।

उनी चलचित्रकर्मीको रुपमा पनि परिचित छन्। चलचित्र प्रेम गीत, चंखे शंखे पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको रुपमा पनि काम उनले गरिसकेका छन्।

मे महिनाको अन्तिम साता हुने उक्त निर्वाचनमा गैरआवासीय नेपाली संघका सदस्यले अनलाइनबाट भोट दिनेछन्।

प्रकाशित: May 15, 2021| 12:20 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्