मंगलबार, असार २४, २०८२

अक्सिजन अभावमा व्याकुल छ ट्रमा सेन्टर

अहिले ट्रमा सेन्टरमा कोभिड-१९ का बिरामीका लागि प्रतिघण्टा १५ देखि २० वटा सिलिण्डर आवश्यक पर्छ। तर, सीसीएमसीले दैनिक जम्मा १०० सिलिण्डरको कोटा तोकिदिएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- बिहीबार बिहान ९ बजे महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर पुग्दा त्यहाँको अवस्था कोलाहलपूर्ण थियो। बिरामी र बिरामीका आफन्त इमर्जेन्सी कक्ष अगाडि आत्तिँदै यताउता गर्दै थिए। धेरैजसोको साथमा अक्सिजन सिलिण्डर थियो।

कोही फोनमार्फत् अक्सिजनको खोजी गर्दै थिए। सबैको अनुहारमा निराशा र हतास देखिन्थ्यो। बिरामीलाई स्याहार गर्न छोडी अक्सिजनको खोजीमा थिए आफन्तहरु। एकअर्कासँग सहयोग मागिरहेका थिए। कोही आफ्ना प्रियजनको शव व्यवस्थापन गर्न लैजाने सेनाको टोलीलाई कुरिरहेका थिए।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेल पनि अस्पतालको इमर्जेन्सी बाहिर हतारमै थिए। उनी अक्सिजनको खोजीमै थिए। रातभरि बालाजु अक्सिजन उद्योगमा लाइन बसेर आएका उनलाई बिरामीलाई अक्सिनज पुर्‍याउन हम्मेहम्मे परेको थियो। उनी फोनमार्फत् अक्सिजन माग गरिरहेका थिए। अस्पतालमा प्रवेश गर्ने सबैजसो गाडीमा अक्सिजनका सिलिण्डर देखिन्थे। बिरामी बोक्ने एम्बुलेन्समा समेत अक्सिजन सिलिण्डर थिए।

बुधरबार रातिदेखि अस्पतालमा अक्सिजनको अभाव भएपछि बिहीबार दिनभर जस्तो अस्पतालमा यस्तै दृष्यहरु देखिइरहे।
अक्सिजन सकिँदै गएपछि बुधरबार राति अस्पतलाले बिरामीलाई अक्सिजनको अभाव भएको जानकारी गराएको थियो। त्यतिबेला १०५ जना कोरोनाका बिरामी अक्सिजनको सपोर्टमा थिए। बिरामीका आफन्तलाई पनि अक्सिजनको खोजी गर्न अस्पतलाले भन्यो। राति अचानक अस्पतलाको सूचनाले सबै बिरामी र आफन्त आत्तिन थाले।

रातभर अक्सिजनको खोजीमा लागेका संक्रमितका एक आफन्त भन्छन्, ‘अस्तपालले अक्सिजन सकियो भन्दा म आईसीयू बाहिरै निदाएको रहेछु, एक्कासी हल्ला र नर्सको अवाजले ब्युझिएँ, के भएछ भनी बुझ्दा अक्सिजन सकियो भन्ने थाहा पाएँ। मन त्रसित भयो, हातखुट्टा थरथरी काँपे, आईसीयू रहेकी आमाको अनुहार झलझली नाच्न थाल्यो। एकैछिन त केही सोच्नै सकिनँ। त्यसपछि आफैलाई सम्हालेर अक्सिजनको जोहो गर्न चिनजानका मान्छेलाई फोन लगाउन थालेँ।’

बिहानसम्म उनले एउटा अक्सिजन सिलिण्डरको व्यवस्था गरेको सुनाए। उनी भन्छन्, ‘धन्न आमालाई केही पनि भएन, अहिले अक्सिजन दिएका छौँ, फेरि कतिबेला अक्सिजन सकिने हो, त्यसपछि के गर्ने हो केही उपाय छैन।’

अहिले ट्रमा सेन्टरमा कोभिड-१९ का बिरामीका लागि प्रतिघण्टा १५ देखि २० वटा सिलिण्डर आवश्यक पर्छ। तर, सीसीएमसीले दैनिक जम्मा १०० सिलिण्डरको कोटा तोकिदिएको छ। त्यसमा पनि पालो पर्खिएर बिहान १०/१५ वटा, दिउँसो १०/१५, बेलुका १०/१५ वटा गर्दै सिलिण्डर प्राप्त हुने गरेको छ।

अस्पतालका निर्देशक डा. पौडेलले भने, ‘कोटाअनुसार दिएको अक्सिजन पनि एकैपटकमा दिए त अर्को व्यवस्था गर्न र अस्पतालमा बिरामीलाई केहीबेर ढुक्कले अक्सिजन दिन पाइन्थ्यो, तर एक घण्टा, दुई घण्टाको फरकमा १०÷१५ वटा सिलिण्डर आउँछ। जसले गर्दा बिरामीलाई पनि समस्या र अस्पतालमा पनि व्यवस्थापनमा समस्या हुन्छ।’

कुनैकुनै बेला अक्सिजन बोकेर एम्बुलेन्स आइपुग्छ। गाडीको अभावमा एम्बुलेन्समै अक्सिजन बोक्ने गरिएको छ। अक्सिजनको सिलिण्डर देखेपछि बिरामीका आफन्तलाई राहत मिल्छ, उनीहरु एम्बुलेन्सको नजिकै पुग्छन् र भन्छन् ‘अब त अक्सिजन पुग्छ होला नि है?’

अक्सिजन आएको केहीबेर त अस्पताल शान्त हुन्छ जब अक्सिजन सकिँदै जान्छ एक घण्टापछि फेरि पहिलेको जस्तौ दौडादौड र कोलाहल सुरु हुन्छ। 

ट्रमा सेन्टरले चार दिनअघि (आइतबार) बाट मात्रै कोभिड–१९ का बिरामीको उपचार गर्न सुरु गरेको हो। १३५ जना बिरामी राखेर सुरु गरेको सेवा ४ दिन नबित्दै अक्सिजनको अभावमा प्रभावित भएको छ। सोमबार सीसीएमसीले कोटा प्रणालीमार्फत् अक्सिजन वितरण गर्न थालेपछि अक्सिजनको अभाव भएको अस्पतालको भनाइ छ। 

ट्रमा सेन्टरमा आफ्नै अक्सिजन लिक्विड ट्यांक पनि थियो। अस्पतालका निर्देशक पौडेलका अनुसार पहिला एक ट्यांकले एक महिना पुग्थ्यो अहिले चार दिनमै सकियो। 

अस्पतालले शंकर अक्सिजन उद्योगसँग दुई महिनाअगाडि अक्सिजन आपूर्तिमा सम्झौता गरिसकेको थियो। तर सीसीएमसीको निर्णयपछि उक्त अक्सिजन उद्योगले पनि तोकेको मात्रै अक्सिजन दिने गरेको डा. पौडेल बताउँछन्। 
उनले भने, ‘पहिले अक्सिजन कम्पनीसँग आवश्यक पर्ने अक्सिजन पाउने सम्झौता गरेर कोभिड–१९ को उपचार सुरु गरिएको थियो, पछि सीसीएमसीले कोटा निर्धारण गरेपछि हाम्रो सम्झौताअनुसार ग्यास पाउन छोडियो र भर्ना भएका बिरामीले पनि उपचार पाउन गाह्रो भयो।’ 

अर्को दुखद पक्ष सरकारले कोभिड अस्पतालको रुपमा तोकेको अस्पतालमा दुईदिनदेखि बिरामी भर्ना गर्न सकिएको छैन। डा. पौडेलले भने अक्सिजन पनि छैन कसरी थप बिरामी लिनु?

स्वास्थ्य मन्त्रालयबाट सीसीएमसीमा प्रतिनिधित्व गरिरहेका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण गर्नु बाध्यता रहेको बताउँछन्। कोटा निर्धारण नगर्दा एक बर्गले धेरै लैजाने अर्को बर्गले कत्ति नपाउने अवस्था आयो त्यसैले यस्तो व्यवस्था गरेको उनी बताउँछन्। 

श्रेष्ठका अनुसार अहिले एक बिरामीलाई दिनको ५ वटा सिलिण्डर आवश्यक परेको अवस्था छ। ‘अहिले झण्डै ५ हजार बिरामीलाई दिनको ५ वटाका दरले २५ हजार सिलिण्डर अक्सिजन आवश्यक परेको छ। अन्य ५ हजारलाई एउटाको दरले ५ हजार सिलिण्डर आवश्यक पर्छ,’ श्रेष्ठ भन्छन्, ‘हामीसँग काठमाडौमा ७ हजार, बाहिर ५ हजार र अस्पतालहरुसँग १ हजार ५०० गरी १५ हजार ५०० जति मात्र सिलिण्डर छन्।

 

 

प्रकाशित: May 13, 2021| 14:37 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।