काठमाडौं। चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)मा सत्तारुढ कांग्रेस र एमालेबीच मतक्य रहेको समाचार बाहिर आइरहेका बेला चीन भ्रमण गरेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मी यस्तो जानकारी दिएकी हुन्।
उनले भनिन्, ‘बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ। हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ।’
मन्त्री डा राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन्। उनले भनिन्, ‘यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ। यो सत्ता साझेदार एमालेलाई अवगत छ। अनुदानमै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफल गरिरहेका छौं।’
नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको र यसलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय–समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण योगदान दिएको चर्चा उनले गरिन्। चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको उनले जानकारी दिइन्।
चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक– सामाजिक साझेदारी वृद्धिमा जोड दिएको बताइन्। चिनियाँ पक्षले पनि प्रस्तुत धारणाप्रति सकारात्मक जवाफ दिएको उनको भनाइ छ।
द्विपक्षीय सम्झौता तथा समझदारीलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति भएको मन्त्री राणाले जानकारी दिइन्।