काठमाडौं। सोमबार दोहोरो अंक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा बन्द भएको नेप्से परिसूचक मंगलबारको कारोबार दिन पनि बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा बन्द भएको छ।
सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले ११ महिनापछि नयाँ नेतृत्व पाएसँगै बजारमा लगानीकर्ताको मनोबल बढ्दा नेप्से पुनः सकारात्मक लयमा फर्किएको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो।
सेबोनले नयाँ नेतृत्व पाएसँगै लामो समयसम्म थन्किएका काम अगाडि बढ्ने विश्वासमा सेयर लगानीकर्ताको मनोबल उकासिनुको कारण मंगलबार नेप्से सूचक तथा कारोबार रकम बढेको देखिएको छ।
आज ७ अर्ब ४४ करोड बढीको सेयर खरिद बिक्री भएको छ। अघिल्लो दिन ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो। कारोबारमा आएका सबै समूहका सूचक बढेका छन्।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ। यस्तै, एउटा कम्पनीको मूल्य स्थिर छ। नेप्सेका अनुसार आज सपोर्ट माइक्रो फाइनान्स, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी स्माल हाइड्रोपावरको मूल्यमा सर्किट लागेको छ।
आज बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बिमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बिमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढेका छन्। राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली विकास बैंकको सेयर मूल्य ८.४ प्रतिशत घटेको छ।
सोमबार १५.८३ अंक र मंगलबार ३३.४१ अंक गरेर दुई दिनमा नेप्से ४९.२४ अंकले बढेको छ। आज साेमबारकाे तुलनामा कारोबार रकममा १ अर्ब १० करोड वृद्धि भएको छ।