काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ। निर्धारित समयभन्दा साढे दुई घण्टा ढिला गरी बैठक सुरु भएको हो।
दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ करिब साढे ६ बजे मात्र सुरु भएको हो। शीर्ष नेताहरूबीच कुरा नमिल्दा बैठक सुरु हुन ढिलो भएको काग्रेसका एक जना केन्द्रीय सदस्यले बताए।
नेताहरूबीच कुरा नमिल्दा यसअघि आइतबार बैठक स्थगित भएको थियो। १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो।
महाधिवेशनको कार्यतालिका र सत्ता समीकरणका विषयमा कांग्रेस नेताहरूबीच मतैक्यता हुन छैन।
पटक–पटक म्याद थप गर्दा समेत सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्। क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो।
क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ। कार्यतालिका हेरफेरका विषयमा शीर्ष नेताहरुबीच मतभेद देखिएपछि कांग्रेसमा पुन विवाद सुरु भएको छ।