काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलो पटक गत माघमा पुष्टि भएको बर्डफ्लु झन् फैलिन थालेको छ।
तारकेश्वर हुँदै सुर्खेत र फेरि तारकेश्वरमै बर्डफ्लु पुष्टि हुँदा नियन्त्रणका लागि सघन निगरानी राखिएको पशु सेवा विभागले दाबी गरेको थियो। तर, त्यसपछि पनि बर्डफ्लु फैलिँदै गएको देखिन्छ। पछिल्लो समय ललितपुरस्थित नख्खुमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ।
नख्खुमा बर्डफ्लु पुष्टि भएपछि ५१६ हाँस, ८५४ स्थानीय कुखुरा र १५४ बट्टाई नष्ट गरिएको छ। त्यस्तै कुखुराको अण्डा र दानासमेत नष्ट गरिएको छ। विभागले विज्ञप्ति जारी गर्दै बर्डफ्लु नियन्त्रणका लागि सघन निगरानी बढाइएको समेत दाबी गरेको छ।