काठमाडौं– वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुले बाहिरका कुनै कुरा नसुनी फैसला गर्नुपर्ने बताएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्ष र विपक्षमा बहस सकिएपछि एमिकस क्युरीको तर्फबाट राय दिँदै कार्कीले यस्तो बताएका हुन्।
उनले भने, ‘हाम्रो संविधान दुर्घटनामा परेको। बाहिर मानिसहरू आफूखुसी बोलिरहेका छन्। यस्तो अवस्थामा इजलासमा बस्ने ५ जना श्रीमानहरुले गर्ने निर्णय नै महत्त्वपूर्ण हुनेछ। जसले संविधानको रक्षा गर्नुपर्ने हो, उनीहरु नै आन्दोलनमा लागेका छन्। संविधानको दुर्घटना भएको स्वीकारेका छन्। हामीले संविधान जोगाउन नसकेकै हो।’
अहिले सबैले अदालतको सहारा खोजिरहेको कार्कीले बताए। ‘जबसम्म ४ वटा पार्टीले १६ बुँदे सहमति गरेनन्, तबसम्म सहमति नै भएन। संविधानको धारा ७४ मा बहुदलवादको कुरा उल्लेख छ। यसमा धेरै अलमलिनु पर्ने कारण छैन,’ कार्कीले इजलासमा भने।
संविधानमा जे लेखेको छ, बहस त्यसमै केन्द्रित हुनुपर्नेमा कार्कीले जोड दिए।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्। प्रधानमन्त्रीको कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। प्रधानमन्त्रीको सिफारिस आँखा चिम्लेर सदर गरेको भन्दै राष्ट्रपति पनि आलोचित छिन्।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्। ती रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ। पक्ष–विपक्ष दुवैको बहस सकिएर आजदेखि एमिकस क्युरीका सदस्यहरुले राय दिइरहेका छन्।