काठमाडौं। खुकुरी रमले बजार प्रवर्द्धन कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलो पटक सहकार्य गरेको छ।
बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञतासहित तीन दशक बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्वसम्मानित ‘इडु टेनर’ हुन्।
आउँदो ३ र ४ जुन २०२४ मा आयोजना हुने कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै उत्कृष्ट खुकरी रम र विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धनमा सघाउ पुग्ने कम्पनीले जनाएको छ।
इयान बरेलले आफ्नो मिक्सोलोजी, रम–उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिमा आफ्नो अनुभवबाट ज्ञानवर्द्धक विषय मास्टरक्लासमार्फत प्रस्तुत गर्नेछन्। कम्पनीका अनुसार प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेले रम टेस्टिङ, नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन्।
कार्यक्रम नेपाली रमपारखी तथा विशेषतः बारटेन्डरलाई अन्तर्राष्ट्रिय उद्योगबारे जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हुने खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरी प्रालिका महाप्रबन्धक सुभाष लामिछानेले बताए।
उनले भने, ‘हामी नेपालमै यस किसिमको पहिलो कार्यक्रमका लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी छौं। कार्यक्रमको माध्यमबाट अनुभवी विश्वव्यापी व्यक्तित्वको उपस्थितिमा नेपाली रम पारखीको ज्ञानको दायरालाई अझ फराकिलो बनाउने मौका दिनेछौं। यस किसिमको कार्यक्रमबाट नेपाली बारटेन्डर तथा रम पारखीको सीपमा विश्वस्तरको निपुणता हासिल गर्न, ज्ञानलाई परिस्कृत गर्न र विश्वव्यापी रम समुदायमा फराकिलो व्यक्तिगत एवं व्यावसायिक नेटवर्क विस्तारमा सहयोग पुग्नेछ।’
सन् १९५९ देखि विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम–उत्पादन शिल्पका लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रमपारखीमाझ प्रख्यात ब्रान्ड बनेको छ।