शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माघी : थारू समुदायको संस्कार र सभ्यता जोडिएको 'नयाँ वर्ष'

माघी : थारू समुदायको संस्कार र सभ्यता जोडिएको 'नयाँ वर्ष'

लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ। यसले थारू समुदायमा सदीयौ‌ंदेखि चल्दै आएको लोकतान्त्रिक पद्धतिलाई पनि बिम्बित गर्दछ।
 |  बुधबार, पुस २९, २०७७

भीम चौधरी

भीम चौधरी

बुधबार, पुस २९, २०७७

धनगढी– पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो माघी। कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङका थारू समुदायले माघीलाई  सबैभन्दा ठूलो पर्वका रूपमा मनाउँदै आएका छन्। 

पहिले माघी पर्व पश्चिम भेगको थारू गाउँघरमा सीमित थियो। अहिले राजधानीलगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने थारूले पनि माघी मनाउँदै आएका छन्। 

माघीका अवसरमा पछिल्लो समय थारू बाहुल्य क्षेत्रमा महोत्सवका आयाेजना  गर्ने क्रम बढेकाे छ। महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, मौलिक परिकारका साथै नाचगानजस्ता कार्यक्रम प्रस्तुत गरिन्छ। 

विगतमा कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया मन्दिर, घोडाघोडी नगरपालिकाको कीर्तिपुरस्थित बुट्का बाबाको मन्दिर, धनगढी उपमहानगरपालिकास्थित बेहेडाबाबा मन्दिर, जाखोर ताल क्षेत्रस्थित शिव मन्दिर र कैलारी गाउँपालिकाको बेनौलीमा रहेको अपरम्पार बाबाको मन्दिरमा  माघी मेला आयोजना हुने गर्दथ्यो। 

यस वर्ष कोरोना महामारीका कारण माघी मेला भने हुन सक्ने अवस्था छैन। माघीका अवसरमा कैलालीका धार्मिक तीर्थस्थलमा भव्य मेला लाग्थ्याे। थारू समुदायको ठूलो उपस्थिति हुने गर्दथ्यो। यसपटक धार्मिक स्थलमा घुइँचो नहुने भएको छ। 

यस वर्ष थारू समुदायले जो जहाँ छन् त्यही बसेर मनाउने मनिस्थिति बनाएको धनगढी उपमहानगरपालिका–१५, उर्माकी कोपिला चौधरी बताउँछिन्। 

संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्नलाई भीडभाड नगरेर मनाउन थालेको थारू कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारूले बताए। 

आज घरघरमा सुँगुर काट्ने दिन

माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन (आज) घरघरमा सुँगुर काट्ने चलन छ। जसलाई ‘जिता मरना दिन’ भनिन्छ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतका परिकार बनाइन्छ।  खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। 

यतिबेला सबैको मुखमा ‘सखियै हो, माघिक पिली गुरी जाँर’ भन्ने गीत झुण्डिएको छ। माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच लोकप्रिय छ। 

सम्बन्ध प्रगाढ बनाउने पर्व

माघे संक्रान्तिको बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई ‘माघ लहान’ भनिन्छ।

नुहाएर घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। यसलाई ‘सेवाढोग लग्ना’ भनिन्छ। गाउँभरि नै गएर सेवासलाम लिने दिने र खानपिन गर्ने चलन छ। 

जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामका लागि पस्नुपर्ने संस्कार यो पर्वमा छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाममा लाग्छन्। यसले समुदायमा एकता, मित्रता, आपसी सदभाव, सहयोग र भाइचाराको सञ्चार गर्ने थारू बुद्धिजीवी दिलबहादुर चौधरीले बताए।

कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अंकमाल गरी मेलमिलाप गर्ने चलन पनि यो पर्वमा छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा लिइन्छ।

धार्मिक विश्वास

माघीमा स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। कैलाली, कञ्चनपुरका थारू समुदाय खोलानाला, नदी तथा धार्मिक स्थलमा लहान गर्न जाने गर्छन्।  

दाङ–देउखुरीमा भने परम्परागत देवथानका रूपमा पूजाआजा गरिन्छ। तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनको घुइँचो लाग्छ।

यसरी स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन्। 

दाङ–देउखुरीकै गोबरडिहा जंगल वा कुट्टीमा पनि माघे संक्रान्तिमा मानिस रातभरि जाग्रम गरी पूजाआजा गर्छन्। यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ। 

दाङ–देउखुरीकै कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुने जनविश्वास छ। यो ठाउँ स्थानीय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ। 

छोरीचेलीलाई ‘निसराउ’

माघीमा चेलीबेटीलाई उपहार पनि दिइन्छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीलाई उपहार दिइन्छ।

माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेला निसराउ लिएर फर्कन्छन्। 

नयाँ आर्थिक वर्ष

माघी पर्व थारू समुदायकाे नयाँ आर्थिक वर्ष हाे। पुस मसान्तमा  लेनदेन र हरहिसाब चुक्ता गरिन्छ भने माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ। 

माघीमा घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायत अन्य व्यवहारको नवीकरण गरिन्छ।

घरसल्लाह र अगुवा चुन्ने पर्व 

माघीमा थारू समुदायका मानिस आफ्नो घर सल्लाह गर्ने प्रचलन छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। 

घरसल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्नेजस्ता कुराको छलफल हुन्छ। घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्छन्।

गरदुरै (घरमुली बन्ने), ‘बहरिया’ (घर बाहिरको काम) को जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ। यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ। 

भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ। यसलाई घरफुटाइ भनिन्छ। अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्चभलाद्मी, महटाँवा, बरघरलाई मध्यस्थकर्ताका रूपमा बोलाइएको हुन्छ।

माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिक रूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ। गाउँको विकास कसरी गर्ने भन्ने याेजना पनि तयार पारिन्छ।

वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल (ख्याला)’ भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ। अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ। 

बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ। आगामी वर्षका लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा  पनि छलफल हुन्छ। 

बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिको छनोट गर्छ। 

यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियमकानुन पनि बनाउँछ। नियम उल्लंघन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ। 

पहिले र अहिले

पहिले माघी थारू समुदायका लागि अभिसाप हुन्थ्यो। जमिनदारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै सुरु हुन्थ्यो।  उनीहरूलाई खरिद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। 

२०५७ साउन २ गते तत्कालीन सरकारले कमैया मुक्त घोषणा गरेपछि कमैयाप्रथा अन्त्य भयो।  २०७० साउन २ गते कम्लहरी प्रथा मुक्ति घोषणा गरियाे।

अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने केटीलाई कम्लहरी भनिन्थ्यो। यिनीहरूलाई दासदासीका रूपमा काम लगाइने गरिन्थ्यो।

माघ १ गते सार्वजनिक बिदा 

थारू समुदायको प्रमुख पर्व (नयाँ वर्ष) माघ पर्व ०७७ को अवसरमा माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

तीन दिन बिदा माग

थारू अगुवाले माघीमा ३ दिन बिदा दिन माग गरेका छन्।  थरुहट थारूवान राष्ट्रिय मोर्चाका कैलाली जिल्ला संयोजक तथा थाकास कैलाली उपसभापति माधव चौधरी माघमा कम्तीमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने बताउँछन्।

लुम्बिनी प्रदेशमा दुई दिन बिदा

माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएकाे छ। लुम्बिनी प्रदेश थारूको सघन बसोबास भएको प्रदेश भएकाले दुई दिन बिदाको व्यवस्था गरेको हुन सक्ने थारू अगुवा बताउँछन्।

कैलारी गाउँपालिकामा तीन दिन बिदा

माघीका अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको हिउँदे अधिवेशनले पुस २९, माघ १ र २ गते बिदा निर्णय गरेको हो। 

गाउँपालिका थारू बाहुल्य रहेकाले तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका प्रवक्ता कमलप्रसाद चौधरीले बताए।

प्रकाशित: Jan 13, 2021| 07:38 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।