काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा हजुरबुबार र नातिबीच नै सहमति नजुटेपछि निर्वाचन भएको छ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका हजुरबुबा सभापति पदका लागि हजुरबुवा पृतबहादुर विष्ट र नाति गजबहादुर विष्टबीच सहमति जुट्न नसकेको हो। सहमति जुट्न नसकपछि भएको निर्वाचनमा नातिले हजुरबुबालाई आठ मतले पराजित गरेका छन्।
हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। ३७ वर्षीय गजबहादुरले कुल मतदान भएको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका हुन्। जसमा तीन मत बदर भए।
गाउँपालिका कार्यसमितिको सभापतिमा विजयी गजबहादुरले पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुवा भएको जानकारी दिएका छन्। बेलडाँडी गाउँपालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा निर्वाचित भएका छन्।
उपसभापतिका अन्य प्रत्यासी पूर्णानन्द भट्ट र डम्बरलाल राना (दयालु) ले क्रमशः ३६ र ३१ मत ल्याएका छन्। यस्तै सचिवमा विजयी धनबहादुर रोकायाले ४२ मत पाएका छन्। अर्का विजयी सचिव कुलैराज उपाध्याय गोलाप्रथाद्वारा विजयी भएका छन्।
उनले र गोला प्रथामा पराजित सचिव पदका उम्मेदवार सचिन कठायतले समान ३८ मत पाएका थिए। अर्का प्रत्यासी रमेश चनाराले ३१ मत ल्याएका छन्।
बेलडाँडी गाउँपालिका कार्यसमितिको सहसचिवमा विजयी देशुराम चौधरीले ३८ र नरेशसिंह धामीले ३७ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी बसन्त रोकायाले ३४ र भुवनेश्वर पण्डितले ३१ मतमा चित्त बुझाएका छन्।