डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले बिहीबारदेखि रिले अनशन सुरु गरेका छन्। सभापति देउवाको प्रत्यक्ष संलग्नतामा वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका क्रियाशील सदस्यता धाँधलीपूर्ण तरिकाले काटछाँट गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै अवैधानिक वडा अधिवेशन रद्द गरेर बिना कारण हटाइउनुपर्ने माग कार्यकर्ताहरूको छ।
नेपाली कांग्रेस डडेल्धुराका कार्यबाहक सभापति करुणाकर भट्टले आफूखुसी केन्द्रबाटै थप गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याएर अधिवेशन प्रक्रिया सुरुवात गर्न माग गर्दै रिले अनशन सुरु गरिएको बताए।
जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रुपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशन बस्नुपरेको उनले बताए।
‘धाँधलीपूर्ण ढंगबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौं,’ कार्यवाहक सभापति भट्टले भने, ‘हामीले उठान गरेको सवालका सन्दर्भमा केन्द्रबाट कुनै जवाफ नआएपछि सत्याग्रह नै अन्तिम हतियार भएकाले अन्यायविरुद्ध अनशन बस्ने निर्णयमा पुगेका हौं।’
क्रियाशील विवाद टुंगो लगाउन, प्रहरी परिचालन गरेर गरिएको वडा अधिवेशनलाई मान्यता नदिन लगायतका माग अघि सारेर डडेल्धुराको पार्टी कार्यालय किसुनजी स्मृति भवनमा रिले अनशन सुरु गरिएको भट्टले बताएका छन्।
जिल्लाबाट पठाइएका करिब साढे चार सय क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट ३१२ जनाको नाम थप गरिएको थियो।
प्रधानमन्त्री तथा सभापति देउवाले परशुराम नगरपालिकाका नगरप्रमुखसमेत रहेका ठेकेदार भीमबहादुर साउँदलाई जिल्ला सभापति बनाउन पार्टीको विधानविपरीत वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका नामावली हटाएको बताइएको छ।
भदौ २० गते केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यता विवरण पार्टीको विधान, निर्देशिका र नियमावलीविरुद्ध भएको ठहर गर्दै भदौ २२ गते सम्पन्न नेपाली कांग्रेस डडेल्धुराको बैठकले क्रियाशील सदस्यता विवाद नटुगिंएसम्मका लागि अधिवेशनका सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको थियो।
जिल्ला कार्यसमितिको निर्णय विपरित केन्द्रले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर भदौ २५ गते व्यापक रुपमा प्रहरी परिचालन गरेर एकपक्षीय कार्यकर्ताहरुको सहभागितामा वडा अधिवेशन सम्पन्न गरेका हुन्। कतिपय वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक संख्या नपुगे पनि अवैधानिक रुपमा वडा अधिवेशन सम्पन्न गरेको भट्टले बताए।
क्रियाशील सदस्यता विवाद नटुंग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीहरूले वडा अधिवेशन बहिष्कार गरेका थिए। अधिकांश कार्यकर्ताहरुले वडा अधिवेशन बहिष्कार गरेको भए पनि हाल घरघरमा रजिष्टर लगेर हस्ताक्षर गराउन थालिएको छ। प्रधानमन्त्री देउवाले जिल्लामा अस्तित्वमा रहेका दुईमध्ये एउटा गुटलाई काखी च्यापेर अवैधानिक काम गरिरहेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तीव्र आक्रोश व्यक्त गरेका छन्।