धनगढी- बहुविवाह र वन मुद्दा लागेर पाँच वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका छन्।
बहुविवाह मुद्दा लागेका कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय रविकुमार चौधरी र वन मुद्दा लागेका कैलालीकै कैलारी गाउँपालिका–१ का ५२ वर्षीय राजकर्ण कठरिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्ला अदालतले चौधरीलाई बहुविवाह मुद्दामा एक वर्ष कैद र २५ हजार जरिवाना सुनाएको थियो भने वन मुद्दाका कठरियालाई पाँच महिना १० दिन कैद र २० हजार जरिवाना सुनाएको थियो।
चौधरीले सजाय भुक्तान नगरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया २०७३ असोज १२ गतेदेखि फरार रहेको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।