काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्व चयनका लागि संस्थापन (देउवा) समूहले आफ्नो प्यानल घोषणा गरेको छ।
रामचन्द्र पौडेल समूहले यसअघि नै सभापतिका लागि चतुरबहादुर चन्दलाई अघि सार्दै प्रचारप्रसार गरिरहेको अवस्थामा सोमबार संस्थापन पक्षले पनि आफ्नो प्यानल घोषणा गरेको हो।
संस्थापन समूहले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ। यसैगरी उपसभापतिमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ।
जिल्ला सचिवमा भने रमेश भण्डारी र कर्ण बोहराले उम्मेदवारी दिने पक्का भएको छ। यसैगरी उपसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ। संस्थापन पक्षमा एकै हैसियतका नेताहरू धेरै भएकाले उम्मेदवार छनोट गर्न ढिलाइ भएको नेताहरूले बताएका छन्।
यसैबीच आसन्न जिल्ला अधिवेशनमा पूर्वसभापति शिवराज भट्ट र वर्तमान उपसभापति चतुरबहादुर चन्दको प्यानलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ।
बैतडी जिल्ला वर्तमान सभापति नरेन्द्रसिंह थापा चन्दको प्यानलमा भएकाले जिल्लाका लागि आफ्नो प्यानललाई संस्थापन समूह भनेको छ। चन्द प्यानलले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय गोठलापानीमा प्यानल घोषणा गर्ने तयारी गरेको छ। देउवा समूहले सोमबार जिल्लाको दोगडाकेदारमा आफ्नो प्यानल घोषणा गरेको हो।
दुवै प्यानलले सहमतिको सम्भावना रहेको बताए पनि निर्वाचन भएमा आफ्नो प्यानल बहुमतका साथ विजय हुने बताइरहेका छन्। संस्थापन समूहले आफ्नो पक्षमा ७० प्रतिशत आउने दाबी गरेको छ।
बैतडीमा कांग्रेसको जिल्ला अधिवेशन १५ असोजमा हुनेछ।