कास्की- बोलेरो जिपले ठक्करबाट पोखरामा ड्युटीमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ ।
घटनामा अर्का एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन् ।
मङ्गलवार राति करिब १ बजे मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरी सवार रहेको ग१ ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखराको मालेपाटनमा ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिमको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बैदाममा कार्यरत प्रहरी जवान बगालेको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
डिएसपी हमालका अनुसार उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा राति १ः५० मा मृत्यु भएको हो ।
दुर्घटनामा क्विक रेस्पोन्स टिमका ३४ वर्षीय प्रहरी हवलदार डम्बर बहादुर थारु गम्भीर घाइते भएको र उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए।
प्रहरीले जिप चालक पोखरा–५ का २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएको छ ।