धनगढी- पूर्वपश्चि राजमार्ग अन्तर्गत पर्ने कैलालीदेखि कञ्चनपुरसम्मको राजमार्ग क्षेत्र सीसी क्यामेराको निगरानीमा आएको छ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सीसीटिभी क्यामेरा आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यक्रमको आयोजना गर्दै सिसी क्यामेरा निगरानीको जिम्मा प्रहरीलाई दिएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरिन्। ‘सुदूरपश्चिममा ठूलो संख्यामा सीसी क्यामेरा जडान भएको छ’, उनले भनिन्, ‘यसले सवारी दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न पनि सहज हुनेछ।’
प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेलले सीसी क्यामेरा जडानपछि 'हिट एन्ड रन'का घटना कम हुने बताए। उनले भने, ‘राजमार्गमा दुर्घटना गरेर भाग्ने र दोषी पक्राउ नपर्ने लगायतका घटनाहरूको अनुसन्धानमा अब प्रहरीलाई सहज हुनेछ।’
मन्त्रालयको कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७-७८ मा एक करोड ७१ लाखको लागतमा सीसी टिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए। जोशीले सडक संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सीसीटिभी क्यामेरा जडान गरीएको बताए।
उनले सीसीटिभी क्यामेरामा पिटिजेड (घुम्ने) ७ वटा जडान गरिएका छन् भने राजमार्ग क्षेत्र अन्तर्गत धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिएको बताए।
उनले क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल विछ्याइएको बताए। ‘सीसीटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेसन राखिएको छ,’ उनले भने, ‘सीसीटिभी क्यामेराको सहयोगले मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा एवं अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा कायम गर्नका लागि मद्दत पुर्याउने अपेक्षा गरिएको छ।’